काठमाडौं। नेपालमा जारी खुकुरी नेपाल सुपर लिगको आज भएको खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले हराउँदै प्लेअफमा स्थान बनाएको छ।
आज साँझ दशरथ रङ्गशालामा भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै काठमाडौं रेजर्सले जित निकालेको हो।
काठमाडौंको जितमा मेसौके ओलोमोउले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोलगर्दै ह्याट्रिक पुरा गरे भने स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक-एक गोल गरे। खेलमा अग्रता २-० को अग्रता कायम गरे पनि हार ब्यहोरेको विराटनगरका लागि पेड्रो मान्जीले दुई तथा एडिलाजा सोमिडे र रन्जित धिमालले एक-एक गोल गरे, जुन बराबरीका लागि पनि पर्याप्त भएन ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेर प्ले अफमा स्थान बनाएको छ। यसअघि धनगढी एफसीले प्ले अफमा स्थान बनाइ सकेको छ। ५ खेलमा ७ अङ्क जोडेको विराटनगर सिटीको पनि प्ले अफमा पुग्ने सम्भावना जिवितै रहेको छ।
त्यस्तै, आज दिउँसो भएको खेलमा ललितपुर एफसीले बुटबल लुम्बिनीलाई हराउँदै पहिलो जित दर्ता गरेको छ। ललितपुरको जितमा अजरबैजानका विङ्गर नुर्लान जाहिदले गोल गरेका हुन्। खेलको पाँचौ मिनेटमा गोलगर्दै उनले ललितपुर एफसीलाई अग्रता दिलाए र बाँकी पहिलो तथा दोस्रो हाफमा दुवै टिमबाट गोल नहुँदा ललितपुरले १-० को जित दर्ता गरेको हो।
पहिलो जित निकालेको ललितपुरको पाँच खेलबाट छ अंक बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ।