काठमाडौं। चेल्सीले स्पेनी क्लब रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २-० ले हराउँदा चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो।

रियल म्याड्रिडको होममा भएको खेलमा १-१ गोलको बराबरी खेलेको चेल्सीले आफ्ने घरेलु मैदान स्टामफर्ड ब्रिजमा २-० गोलले हराउँदै समग्रमा ३-१ को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो। 

चेल्सीको जितमा टिमो वार्नरले पहिलो हाफको २९ औँ मिनेटमा अग्रता दिलाए भने म्यासन माउन्टले दोस्रो  हाफको ८६ औँ मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेर चेल्सीलाई फाइनल प्रवेश गराएका हुन्।

अब च्याम्पियन्स लिगको फाइनल खेल मे २९ का दिन टर्कीको स्तानबुलमा म्यान्चेस्टर सिटी र चेल्सीका बीच हुनेछ। सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने चेल्सीले यस अघि सन् २०१२ मा च्याम्पियन्स लिग जितिसकेको छ।