विराटनगर। प्रदेश १ सरकारले कोभिड १९ सङ्क्रमणका कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति बावपत पच्चीस लाख दिने निर्णय गरेको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आज त्यस्तो निर्णय गरेको हो।

प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिड -१९ को पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा सङ्लग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड -१९ सङ्क्रमणका कारण मृत्यु भएमा त्यस्ता कर्मचारीको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो। 

त्यस्तै, सङ्क्रमित कर्मचारीको उपचारको सम्पूर्ण रकम पनि प्रदेश १ सरकारले नै ब्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कर्मचारी सङ्क्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश १ सरकाले ब्यहोर्ने छ।