सडक दुर्घटनामा परेर गम्भीर घाइते भएर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा आएको सुधारले आफू नै अचम्मितमा परेको अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले बताएका छन् ।
गत आइतबार कञ्चनपुरको झलारीमा सडक दुर्घटनामा परेका ललितलाई धनगढी र नेपालगन्जमा सुरुआती चरणको उपचारपछि सोमबार ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । छाती, फोक्सो र कलेजोमा समेत चोट देखिएकाले चिकित्सकले उनको शल्यक्रिया गर्न हतार गरेका थिएनन् ।
शरीरभित्रको चोटमा सुधार देखिएपछि बिहीबार उनको शल्यक्रिया भएको थियो । अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाण्डे नेतृत्वको टोलीले ५ घण्टा लगाएर शल्यक्रिया गरेको हो ।
ललितको दायाँ तिघ्राको हड्डी भाँचिएको छ । दायाँ हातको नाडीको एउटा हड्डी भाँचिएको र अर्को फुस्किएको छ । दायाँ हातकै हत्केलामा एकभन्दा बढी ठाउँका हड्डी टुटेको छ भने बायाँ खुट्टाको कुर्कुच्चा र शरीरका अन्य भागमा गम्भीर चोट लागेको अस्पतालले जानकारी दिएको छ ।
‘आज बिहानसम्ममा उनको स्वास्थ्य अवस्था निकै राम्रो भइसकेको छ । हाम्रो उपचार पद्धति र उनको आत्मबलले रिकभरीमा सहयोग गरिरहेको छ,’ आइतबार डा। पाण्डेले भने, ‘यो एउटा असामान्य दुर्घटना हो । यस्तो केसमा बिरामी निको हुन धेरै समय लाग्छ । तर यस्तो दुर्घटनामा यति छिट्टै रिकभरी भएको यो पहिलो केस होला ।’
यसअघि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तथा थ्रीस्टार क्लबका कप्तान विक्रम लामा, राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर जमुना गुरुङ, राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सिपोरा गुरुङको सफल उपचार गरिसकेका डा। पाण्डेले ललित एक वर्षभित्र क्रिकेट खेल्न तयार हुने दाबी गरेका छन् ।
अत्याधुनिक प्रविधिबाट उपचार गरी सम्भव भएसम्मका सबै प्रयास गरेकाले बढीमा एक वर्षसम्म ललित मैदान फर्काउने लक्ष्य रहेको उनले बताएका छन् ।
नेपाल सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै ललितले एकदिवसीयमा डेब्यू गरेका थिए । नेपाललाई एकदिवसीयमा पहिलो जित दिलाउनेक्रममा देब्रहाते तीव्र बलर ललितले नेदरल्यानड्सविरुद्ध २ विकेट लिएका थिए ।
पछिल्लो समय उनी चोटका कारण राष्ट्रिय टोलीबाहिर रहेका थिए । ललितले लिस्ट ‘ए’ मा दुई खेल खेलेका छन्, दुवै २०१७ मा यूएईविरुद्ध अबुधाबीमा थियो । यही खेलबाट ललितले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।