‘सासू कहिल्यै आमा हुँदैनन् र बुहारी कहिल्यै छोरी हुँदैनन्’प्रायः धेरैले उच्चारण गर्ने भनाई हो यो।जतिसुकै शिक्षित घरपरिवारमा पनि सासूबुहारीको मतभिन्नतार विवाद देख्न सकिन्छ । कतिपय बुहारीहरु त सासूसँग मिल्न नसकेर छुट्टै कोठा लिएर बस्ने गर्दछन् भने कतिपयत बाध्यताले सासू ससुरासँगबसिरहेका हुन्छन् ।बुहारी ल्याएर छोरा पनि टाढा भयो भन्ने गुनासो धेरै आमाबुबाबाट सुन्न पाइन्छ।कतिपय अबस्थामासासू बुहारीकै बिचमा बेमेल र मनमुटाबका कारण हिंसाले ठूलो रुप लिएको पनि देख्न सकिन्छ ।

तर हामी यस्तो जीवनशैली किन अपनाईरहेका छौँ । के साच्चै सासू कहिल्यै असल आमा हुँदैनन्? हामी यस्तो समाजमा हुर्किरहेका छौ, जहाँ सासूलाई बुहारीले र बुहारीलाई सासूले नकारात्मक दृष्टिकोणले हेर्ने बानी परेको छ । हामीले गलत पद्धति बसाल्यौँ। अब हामीले हाम्रो सोच परिवर्तन गर्न जरुरी छ । यिनी उनै आमा हुन् जसलाई हामी ममताकी खानी भनेर चिन्छौ । जगत जननी भनेर चिन्छौँ। आमा त साच्चै ममताका खानी हुन् । एउटा सासू असल आमा बन्न सक्छिन तर त्यसको लागि बुहारी पनि असल छोरी बन्न सक्नुपर्छ । बुहारी छोरी जस्ति बनीन् भने सासू पनि पक्कै आमा जस्ती बन्छिन् । माया ममता र भावनाहरु अन्तरहृदयबाट जागृत भएर आउनु पर्छ । एक अर्काप्रति सकारात्मक धारणाको विकास हुनुपर्छ। सहयोग, सद्भाव र आत्मियता बढिरहनुपर्छ ।

सासूले बुहारीसँग र बुहारीले सासूसँग खुलेर आफ्ना समस्या, सुख दुःखका कुरा गर्नुपर्छ । सम्बन्धमा प्रगाढता र मिठासपन ल्याउने भलाकुसारी र व्यवहार गरिनु पर्छ । समाजको विकासक्रम धेरै अगाडि बढीसकेको छ । समाजको विकास संगै विकृतिका रुपमा रहेका सामाजिक, सांस्कृतिक र परम्परागत मान्यताहरु पनि तोड्दै जानुपर्छ ।परम्पराका नाममा सम्बन्धमा तिक्तता ल्याउने कुनैपनि कुरीती र कुसंस्कारका अवशेषहरुलाई बाँकी राख्नुहुन्न ।  सम्बन्धमा मिठासपन ल्याउन सक्यौँ भने हिजो बुहारीकोकाममा चित्त बुझाउन नसक्ने सासूले आज बुहारीलाई सहयोग र सपोर्ट गर्ने बानी पर्छ। प्रेममय भाव मौलाउँदै जान्छ ।घर नै माइती जस्तो लाग्छ। तर त्यसको लागि बुहारीले पनि सासूको अनुहारमा आमाको प्रतिबिम्ब देख्नसक्नुपर्छ । सोही अनुसारको बानी व्यवहार र शैली अपनाउन सक्नुपर्छ भनेसासूले पनि बुहारीमा छोरीको प्रतिबिम्ब देख्नसक्नुपर्छ । माया ममता दिनुपर्छ। एक्लोपन र पराईको महशुस हुन दिनुहुन्न ।

सासू र बुहारीको सम्बन्ध भनेको एकले अर्कालाई देखिनसहने, एकले अर्कालाई दोष थोपर्ने मात्र हो भन्ने संकीर्ण सोचबाट माथि उठ्न जरुरी छ।सासूबुहारीको सम्बन्ध कस्तो हुनुपर्छ ? सासूले बुहारीलाई कस्तो व्यवहार गर्नुपर्छ ? र बुहारीले सासूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको जानकारी दुवै पक्षले राख्नुपर्छ।उत्कृष्ट सासूबुहारी बनी समाजमा समेत सकारात्मक सन्देश दिन सक्नुपर्छ। तिनै बुहारी भोलि सासू बन्ने र तिनै सासू हिजो बुहारी थिएँ भन्ने हेक्का दुवैले राख्नुपर्छ । दुवैले एक अर्काप्रति सम्मान र स्नेह राखौँ । छोराबुहारी हुँदाँहुदैपनि आमाबुवालाईबृद्धाआश्रमपठाउनेकुचेष्टा कसैले पनि नगरौँ। आज सासू ससुरालाई बृद्धाश्रम पठाउन दवाव दिने बुहारीले भोली आफ्नै आमा बुवाले पनि वृद्धाश्रम जानुपर्छ भन्ने कुराको हेक्का राखौँ।

सासूले बुहारीको चित्त नबुझेको आनीबानीहरु सारा सन्सारलाई सुनाउँदै हिँड्ने र बुहारीले पनि सासूको चित्त नबुझेका कुराहरू आफ्नो माइतीमा सबैलाई सुनाउने कारणले पनि समस्या झन बल्झिदै जान्छ । आवेशमा आएर आफ्नो घरको गोप्य र संवेदनशील कुराहरु बाहिर सुनाउँदै हिड्दा पारीवारिक सम्बन्ध कदापी दिगो र बलियो हुँदैन । झन परिवार बिखण्डनर्फ लम्किन्छ।समाजले त तपाईको त्यही कमजोरीको अपेक्षा गरिरहेको हुन्छ । तपाईको परिवारलाई कमजोर र छिन्नभिन्न बनाउन छिमेकीले मौका पर्खिरहेको हुन्छ।

कैयन सासूबुहारीको झगडाको धर्मसंकटमा छोरो पनि पर्छ । आफ्नो आमालाई केही भनौँ आमाको मन दुख्ने अनि श्रीमतीलाई केही भनौँ भएको घरबार बिग्रिने । अन्तिममा बाध्य भएर आमाबुबालाई थुम्थुम्याउदै श्रीमतीकै पछि लागेको तितो यथार्थ पनि हामी सामु छ। बुहारीकै कचकच र दुष्वचनका कारण घरमा बस्न नसकेर घरै छाडि वृद्धाश्रममा बस्नुपरेको दुःखद यथार्त पनि हामीले देखेका छौँ । कतिपय ठाउँमा त दाइजोको निहुँमा सासू ससुरा र श्रीमान् मिलेर यातना दिने गरेको पाउन सकिन्छ। यस प्रकारका रिस राग र कुण्ठित भावनाले आफ्नै परिवार छिन्नभिन्न हुन्छ ।

विवाह भनेको आफ्नो जिन्दगीसँग गरिने एउटा सम्झौता हो ।मायाप्रेम, सद्भाव र विश्वासले नै कुनै पनि सम्बन्धलाई दिगो, स्थायी र मजबुत बनाउँछ । नयाँ परिवेशका साथ पारीवारिक सम्बन्धमा बाँधिसकेपछी पारीवारका सदस्य सबैमा आफ्नोपन देख्नुपर्छ । समयको कालखण्डसँगै आफ्ना साबिकका बानी व्यवहारमा समेत परिवर्तन ल्याउन सक्नुपर्छ। एक अर्काका बीचमा हुने सानातिना गल्तीहरूलाई माफ गरिदिनुपर्छ।

बुहारी र सासू बीचको असल सम्बन्ध पारिवारिक जीवनको एक महत्त्वपूर्ण भाग हो। धैर्यता, समझदारी र विश्वासले नै सम्बन्धमा घनिष्ठता ल्याउन सम्भव हुन्छ।परिवारका कुनैपनि सदस्यहरूसँगको कुराकानीमा आलोचना गर्नुहुन्न। जुन घरमा सासू बुहारी बीचमा दैनिक मनमुटाव र झै झगडा हुन्छ, त्यो घर कहिल्यै खुशी हुन सक्दैन । त्यस्तो घरमा कहिल्यै उज्यालो छाउँदैन । जहिले नि अन्धकार मात्रै हुन्छ । विवाद र झै झगडा उन्नति र प्रगतिका बाधक हुन् ।जहाँ विवाद हुन्छ, त्यहाँ विनास मात्रै हुन्छ। त्यसैलै सबैभन्दा ठूलो कुरा त सम्बन्धमा सुमधुरता ल्याउनुपर्छ । सासू र बुहारी बीचमा समुधुर सम्बन्ध रहयो भने त्यो घरमा खुशीयाली छाउँछ ।  सासू बुहारीमा आमा र छोरीको जस्तै माया ममता र सद्भाव देखियो भने त्यो घर आफै सभ्य र शालीन बन्दछ । घरमा सभ्यता र असल संस्कारको जन्म हुन्छ । सुन्दर विचारको निर्माण हुन्छ । पारीवारिक श्रीवृद्धि हुन्छ। आत्मियता सामिप्यता र प्रेममय भावको विकास हुन्छ । समग्रमा घर नै सुन्दर बन्छ ।

              (लेखक दान बहादुर सुनार नेपाल सरकारका कानून अधिकृत हुन्)