-दान बहादुर सुनार

एकजना पुरुष साथीले मेसेन्जरमा मेसेज पठाउनु भयो । खासै कुरा नहुने मान्छेले मेसेन्जरमा लामै मेसेज पठाएकोले कौतुहलता बढेर तुरुन्तै पढिहाले। 

‘हैन सर, हजुर कति महिलाको बारेमा मात्रै लेख्नुहुन्छ ? कहिलेकाही त हाम्रो बारेमा पनि लेख्ने गर्नुस् न। हजुरले महिलाका पीडा मात्रै देख्नुहुन्छ, पुरुषका पीडा देख्नु हुन्न ? एकतर्फी मात्रै नलेख्नुस न, पुरुषका पीडा पनि लेखिदिनुस् !’, यो मेसेज पढेर म सोचमग्न भए । 

‘सुझावको लागि धन्यवाद !  हजुर पनि पीडामा हुनुहुन्छ, त्यसो भए?’,  मैले सोधिहाले । 
‘हो सर म साह्रै पीडामा छु !  म माथि अन्याय भएको छ, तर यो समाजले जहिले नि महिलाको पक्षमा मात्रै बोल्छ !’

‘ए हो !  खासमा के रहेछ तपाईको समस्या ? ’ 

‘मेरो कहानी लामो छ सर, मेसेजमा लेख्न मिल्दैन। मलाई थोरै कानूनी सल्लाह पनि चाहिएको छ। यदि हजुरको फुर्सद भए कल गर्न सक्छु ? ’ उनले कल गर्न अनुमति मागे । मैले पनि 

अनुमति दिए। उनले तुरुन्तै मेसेन्जर कल गरिहाले। 

आफ्नो कहानी यसरी सुनाउन थालेः-

‘विवाह भएको तीन बर्षसम्म हाम्रो सम्बन्ध राम्रै चलिरहेको थियो । यस बीचमा हाम्रो एउटा छोरी पनि जन्मिइन् । म बेरोजगार थिए । घरमा श्रीमतीले नानाथरीका कुरा सुनाउने गर्थिन् । सबैका श्रीमान कति पैसा कमाउछन् ।नयाँ नयाँ लुगाकपडा, गहना किनिदिन्छन् , घुमाउन लग्छन् । तपाईले अहिलेसम्म के गर्नुभाछ र मेरा लागि ? तपाईसँग विहे गरेर मेरो जिन्दगी वर्वाद भयो । श्रीमतीको रातदिनको कचकचले मलाई साह्रै तनाव हुन्थ्यो । मसँग कहिल्यै राम्रो मुखले बोलिनन्। जहिले नि हेपेर वोल्थिन् । मलाई असह्य भएपछि मेरो मनमा विदेश जाने सोच पलायो । मैले पासपोर्ट बनाए । गाउँकै छिमेकीसँग ऋण काढेर म विदेश गए । आफ्नो जन्मभूमी, घर परिवार, बुवा आमा, श्रीमति र छोरी छोडेर जाँदाको पीडा लुकाएर उराठ मन लगाई विदेश उडेको थिए । भोक, प्यास र निन्द्राको प्रवाह समेत नगरी कठिन काम गर्न थाले । दुःख गरी कमाएको पैसा महिना महिनामा श्रीमतीको नाममा पठाउने गर्थे। तीन बर्षपछि गाउँ फर्केर एउटा राम्रो घर बनाउने र सानो व्यापार गर्ने योजना बनाएको थिए ।

तर बिडम्बना यता श्रीमती अर्कै युवकको प्रेमजालमा रहिछिन् । मेसेन्जर र फोनकलमा उनीहरुको खुबै कुरा हुने रहेछ । उनीहरु बीच पटक पटक भेटघाट पनि हुने रहेछ । मैले कल गर्दा श्रीमतीले मसँग मायाको नाटक गरिरहीन् । महिना महिनामा पैसा पठाउन दवाव दिइरहन्थिन् ।मैले आफ्नो पकेट खर्च मात्र राखेर सबै पैसा श्रीमतीलाई पठाईदिन्थे । उनी त परपुरुषसँग रमाउँदै बसेकी रहिछिन् । पठाएको पैसा पनि सबै उडाइसकेकी रहिछिन् । मेरो तीन बर्षको भिसा सकिएपछि म गाउँ फर्किन लागेको कुरा श्रीमतिलाई सुनाएको थिए । म घर आउन्जेलसम्म त घरमा श्रीमति थिइनन् । बृद्ध वुवा आमा र मेरी ४ बर्षकी छोरी मात्र घरमा थिइन् । श्रीमती कता गइन् भनी सोध्दा हिजोबाट सम्पर्कमा नरहेको खबर पाए । म छाँगाबाट खसेजस्तै भए । विभिन्न शंका उपशंकाले मनभित्र छटपटाहट भयो । मोवाइल पनि स्विच अफ थियो । ३/४ दिनपछि एउटा अपरिचित नम्बरबाट मेसेज आउँछ । मलाई माफ गर्नुहोला, मेरो हातबाट अन्जानमा गल्ती भैहाल्यो । म अर्कै पुरुषसँग प्रेममा थिए । म अब हजुरसँग बस्न सक्दिन् । म उसँग अर्कै विहे गरेर गैसके । छोरीको ख्याल गर्नुहोला । प्लिज मलाई माफ गरिदिनुहोला । यो मेसेज पढ्दा पढ्दै म बेहोस भएर ढले । मेरो जीवनमा कालो वादल मडारिएको महसुस भयो । त्यो दिनदेखि मलाई कुनैपनि महिलाप्रति सकारात्मक सोच पलाएन । मेरो परिवार नै उजाड भइसकेको थियो । दुख गरी कमाएको पैसा सबै लगिसकेकी थिईन । म अहिले दुःखको आहालमा डुबेको छु । बृद्ध बुवा आमा र छोरीको चिन्ताले रातदिन पिरोल्ने गर्छ ।’ यति भनेर उनले लामो सास फेरे । 

म निशब्द भए । मैले उनलाई सम्झाउन थाले। म तपाईसँग भेटमा कुरा गरौला बरु समय मिलाएर मलाई भेट्नुहोला भन्दै मैले कल काटे । त्यो घट्नाले मलाई पनि साह्रै पीडाबोध गरायो । हाम्रो समाजमा यस्ता थुप्रै घट्ना र पीडा व्यथाहरु छन् । केही थोरै मात्रै जानकारीमा आउँछन्, त्यो भन्दा बढी त जानकारीमा नै आउँदैनन् । थुप्रै पुरुषहरु अहिलेपनि सकसपूर्ण जीवन बाँचिरहेको पाउन सकिन्छ । हाम्रो समाजमा तीव्र गतिमा बढिरहेका सम्बन्ध विच्छेदका घट्नाका पछाडि यी पनि प्रमुख कारण रहेका छन् । यस्तै कारणहरुले श्रीमान श्रीमति बीच पटक पटक खटपट, मनमुटाव र झैझगडा हुने गर्छन । त्यतिमात्रै होइन् विभिन्न खालका हत्या हिंसा र अपराधिक घट्नाहरु समेत घट्ने गरेका छन् । 

पुरुषले नै घरपरिवारको सबै जिम्मेवारी लिनुपर्छ भन्ने पितृसत्तात्मक मान्यताले पनि उनीहरू पीडित भएका हुन्छन्। प्रायः दाजुले बहिनीको विवाह नगरी आफ्नो विवाह गर्न सक्तैन। यदि त्यसो नगरे छोराको जिम्मेवारी पूरा नगरेको आरोप समाजले लगाउँछ। समाजकै डरले पनि पुरुषले पीडा लुकाइरहेका हुन्छन्। घर परिवार र श्रीमतिलाई आवश्यकता अनुसारका सुख सुविधा पुर्‍याउन नसके असक्षम ठहरिन्छ। सन्तानको भविष्य निर्माणका लागि रातदिन नभनी  स्वदेश वा विदेशमा दुःख गर्नुपर्ने हुन्छ । श्रीमती, छोराछोरी र बुवा आमाबाट टाढा बस्नु पर्दाको पीडा पनि ऊ व्यक्त गर्न सक्दैन। 

कैयन पुरुषहरु अहिलेपनि महिलाबाट पीडित छन्।  पारिवार, समाज र साथीभाईले थाहा पाइहाल्छन् कि ?  आफू आलोचित हुनुपर्छ कि भनेर मनमा पीडा गुम्साएर बसेका हुन्छन् । कानून पनि पुरुषमैत्री छैन । पुरुषले हिंसामा परेको भनी प्रहरीमा उजुरी लिएर जाँदा खासै पत्याउदैनन्। उल्टै शंका र प्रश्नको घेरमा पर्ने गर्छ । पत्नीलाई मिलाएर राख्न नस्कने उल्टै उजुरी गर्न आउने भन्ने आरोप लाग्ने गर्छ ।  

 पुरुषहरुले केही बोल्नै हुन्न । बोल्यो कि, महिला अधिकारको कुरा आउँछ । हाम्रो सामाजिक र कानूनी संरचना यस्तो छ कि, पुरुषका पीडालाई पीडा नै ठान्दैन । कतिपय महिलाका गल्तिभित्र पनि पुरुषकै दोष देख्ने गर्छ । पुरुष पनि हिंसामा पर्छ र ?  भन्ने उल्टै प्रश्नहरु तेर्स्याउने गर्छन । एउटा अर्को घट्ना प्रस्तुत गर्छुः- 

‘केही वर्ष पहिले प्रेमविवाह गरेका एक जोडीले डिभोर्स गरे । सानी छोरी लिएर श्रीमती माइतीमा बस्न थालिन् । श्रीमतीले श्रीमानप्रति धेरै शंका गर्न थालिन् । यस्तै अरु धेरै कुराहरूमा पनि मन मिलेन । त्यही भएर उनीहरुले डिभोर्स गरेका थिए । श्रीमतीले अंश सम्पत्ति पनि लिएकी थिइन् । कानुनी रूपमा अलग भइसकेपछि अब उनीहरूको सम्बन्ध केही पनि रहेन। त्यति सानी छोरी छोडेर किन अलग भएको ? सानी छोरीका लागि भएपनि मिल्नु पर्थ्यो नि ? भनेर समाजले श्रीमानलाई नै प्रश्न तेर्स्याउन थाल्यो ।श्रीमानले भक्कानिदै भन्न थाले, ‘अहिले महिलाले इसारा गरेपनि सबैथोकमा न्याय पाइन्छ तर पुरुष त सधैँभरि महिलालाई हिंसा गर्ने, महिलालाई थिचोमिचो गर्ने नामले चिनिन्छ । महिलाले थिचोमिचो गरेको, महिलाले पुरुषमाथि थोपरेका लान्छनाबारे कोही बोल्दैनन् । सानो कुरालाई पनि महिला अधिकारकर्मीको उक्साहटमा लागेर तिलको पहाड बनाएर पुरुषको दोष मात्रै देखाउँछन्। महिलाको गल्ती देखिन्न । अर्काको घरबार भाँड्यो, अनेकन् कुरा उचाल्यो। बस्, उनीहरूको काम पूरा हुन्छ।’ उनी एकोहोरो बोलिरहे।

मैले यति लेख्दै गरिरहँदा पुरुषको मात्रै पक्षपोषण गरयो भन्ने कतिपयलाई लाग्ला । तर त्यसो होइन् । मैले अहिलेसम्म लेखेका अधिकांश लेखहरु महिला हक अधिकारका बारेमा नै छन् । मैले प्रायः जसो सामाजिक विकृति, विसंगति र महिला हक अधिकारको बारेमा आवाज उठाउने गर्छु । मलाई केहि पीडित पुरुषहरुले वास्तविक पीडा बताएपश्चात मैले धेरै घट्नाहरुको अध्ययन विश्लेषण गरे । सामाजिक परिघट्नाहरुलाई नियालेर हेरे । घट्नाभित्रका अन्तर्वस्तुहरु खोतल्ने प्रयास गरे । लामो अध्ययन पश्चात महिला मात्रै होइनन् , पुरुषहरु पनि पीडामा रहेछन् भन्ने अनुभूती भएकाले यो लेख लेख्ने प्रयास गरेको छु । यो लेख पढिसकेपछि रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको छु । धन्यवाद !!

-लेखक नेपाल सरकारका कानून अधिकृत हुनुहुन्छ।