-दान बहादुर सुनार

छेउमै बसेका कालो कोटधारी विद्वान् वकिलले मेरा कुरा भुइमा झर्न नपाउँदै तर्क तेर्स्याउन थाले। मेरा सबै सतवचनलाई झुठ प्रमाणित गर्न एक पछि अर्को वनावटी प्रमाण पेश थाले। कला, गला र वाकशक्तिले दख्खल ती विद्वान् महोदय सामू मेरा धरमराएका शब्दहरु निरीह साबित भए ।

एकजना युवती मेरो सम्पर्कमा आइन् । उनको हाउ भाउ र बोलाइको शैली हेर्दा उनी ठुलो पीडामा छिन् भन्ने प्रष्टै हुन्थ्यो । बाहिरी रुपमा हेर्दा उनी जति सुन्दर र आकर्षक थिइन्, भित्रीरुपमा त्यो भन्दा बढी दर्दनाक पीडा र व्यथाको जंजालले बाँधिएकी थिइन् । मलाई भेट्दा थोरै भएपनि उनको मुहारमा आशा जागेको महशुस हुँदै थियो।  सुरुमा वोल्न अप्ठ्यारो मानिरहेकी उनी विस्तारै व्यथाहरुको पोको फुकाउन थालीन् । पल पलमा उनका आँखाबाट आँशुका भेलहरु बग्ने गर्थे । पीडाको आहालमा डुबुल्की मारेर तंग्रिन लागेकी उनी पुराना घट्नाहरु खोतल्दै गर्दा बीच बीचमा भक्कान्थिन् । उनी भन्न थालिन् ….. “गरिब परिवारमा जन्मेको २ बर्ष नपुग्दै मेरी आमाले संसार छाडेर गइन् । एउटी आमाले निर्वाह गर्नुपर्ने सम्पूर्ण कर्तव्य बुवाले निर्वाह गर्नुभयो । कलिलो उमेरमै पत्नीवियोगको दुःखान्त पीडा खेपेका बुवाले अर्को विवाह गर्ने परिकल्पना पनि गर्नु भएन । मेरो सबैथोक बुवा हुनुहुन्थ्यो । तर दैवको लिला म १० बर्षकी हुँदा बुवाको पनि दुर्घटनामा परी स्वर्गबास् भयो । त्यतिवेलै मेरो संसार त उजाडि सकेको थियो । 

जीवनबाट हार खाइसकेकी मलाई मेरो मामाले लगेर पाल्नुभयो । दिनहरु बित्दै जाँदा उच्च शिक्षाको पढाईको लागि राजधानीतर्फ जाने सोच पलायो । त्यत्रो पढाईखर्च व्यहोर्ने सामर्थ्य थिएन । तथापी पार्ट टाइम काम गरेर भएपनि पढाई खर्च निकाल्ने योजनाका साथ काठमाण्डौँ प्रस्थान गरे । अभावै अभावको भूमरीमा बाँचेको मेरो जिन्दगीले अलि बिशिष्ट खालको लक्ष्य राखेको थियो। एक सफल व्यक्ति बनेर देखाउनेछु भन्ने संकल्प बोकेको थिए । म क्याम्पस भर्ना भए। अलि नजिकैको बोर्डिङ्ग स्कुलमा पढाउन पनि थाले । दिनचर्या ठिकै चलिरहेको थियो । सरकारी अफिसर बन्ने लक्ष्यका साथ लोकसेवा तयारी पनि गरिरहेकी थिए। यसै क्रममा मेरो जीवनमा  एकजना व्यक्तिको प्रवेश भयो । जसले गर्दा म अहिले यो अवस्थामा बाँचिरहेकी छु । 

नाम चलेको प्रतिष्ठित व्यापारी थियो । कुनै कार्यक्रममा भएको भेट घनिष्ठतामा परिणत हुन थाल्यो । पहिलो भेटमै उ मेरो शरिर देखेर आकर्षित भएको रहेछ । म सँग फेसबुकमा पनि जोडिन पुग्यो । हाम्रो कुराकानी बाक्लै हुन थाल्यो । मेसेन्जरमा हुने कुराकानीमा उ मेरो प्रशंसा गर्न थाल्यो । यसरी हुने कुराकानीमा म प्रति प्रेमभाव पनि झल्किएको आभाष हुन्थ्यो । उ पनि देख्नमा हेण्डसम थियो, झट्ट हेर्दा मलाई पनि राम्रो लाग्यो । उसले एकदिन मलाई प्रेम प्रस्ताव राख्यो। म अविवाहित हुँ। एउटा राम्री केटीको खोजीमा थिए । मैले त खोजे भन्दा नि राम्री हरेक गुणले भरिएकी सुशील अनि सुन्दर मान्छे फेला पारे । म तिमीसँग विवाह गर्न चाहन्छु । मेरो प्रेम प्रस्ताव स्वीकार गर्नुस् । म सोचमग्न भए। उमेर पनि ढल्किदै छ । गाउँघरतिर पनि विवाह गर्नुपर्यो भन्ने दवाव छ । आँखिर विवाह त एकदिन गर्नैपर्ने हो । केटो राम्रो छ आर्थिक रुपमा सम्पन्न पनि छ । मैले धेरै सोचिन् । प्रेम प्रस्ताव स्वीकार गरे । विवाह गर्ने नै कुरा भइसकेपछि त हाम्रो भेटघाट पनि पटक पटक हुन थाल्यो । फुर्सद मिलेको दिन नयाँ नयाँ ठाउँ घुम्न थाल्यौँ । 

एकदिन उसले मलाई लामो यात्रामा लगेर गयो । राती बास बस्नुपर्ने भयो । होटलमा कोठा लिने कुरा भयो । मैले अलग अलग कोठा लिन अनुरोध गरे । तर उसले मानेन । छुट्टै बेडमा सुतौला एउटै कोठा लिउँ भनेर जिद्दी गर्यो । मैले पनि नाइ भन्न सकिन् । हामी अलग बेडमा सुत्यौँ।घडीको सुईले रातीको १२ बजाईसकेको थियो । मेरा आँखा झुम्न थालेका थिए । एक्कासी उ मेरो बेडमा आएछ । म झल्यास्स बिउझिए । उसले धेरै नबोली मलाई अंगालोमा च्याप्यो । विहेभन्दा अगाडि यस्तो गर्नु हुन्न भनेर अनुरोध गरे । उसले मानेन। हामि त विहे नै गर्ने हो नि भनेर मलाई काबुमा लियो। मेरा ती सुकोमल अंगमाथि कब्जा जमाउन थाल्यो । एक एक गर्दै मेरा बस्त्रहरु खोलेर नग्न बनायो । मैले सहेर बस्नु बाहेक केहि विकल्प थिएन । केही समयको रासलिला पछि उ आफ्नै बेडमा गयो । आँखिर त्यही भयो जे नहुनु थियो । म भित्रभित्रै रुँदै थिए । तथापी उसले हामी छिट्टै विहे गर्नेछौ भनी आश्वस्त पारेकाले म शान्त भए।

दिनहरु वित्दै जाँदा उसको व्यवहारमा परिवर्तन आउन थाल्यो । उ मसँग टाढिदै जान थाल्यो । फोन गर्दा काटिदिने । मलाई झनै तनाव बढ्यो । आँखिर उसको व्यवहारमा परिवर्तन किन आयो ? मैले उसलाई प्रश्न गरे ? उसले तुरुन्तै मेसेन्जर कल गरेर भन्यो, म विवाहित हुँ। मेरा २ छोरा छोरी छन् ।मैले तिमीसँग झुट बोलेको हो । म तिमीसँग विवाह गर्न सक्दैन । मैले त शारीरिक भोग मेटाउन मात्र तिमीलाई मायाको नाटक गरेको हो । तिम्रो शरीर देखेर आशक्त भएको थिए । मैले आफ्नो इच्छा पुरा गरिसके, अब तिमीसँग मेरो विवाह हुँदैन । मसँग अबदेखि नवोल्नु होला । मलाई कुनै अपठ्यारो हुने काम गरे तिम्रो ज्यान पनि जोखिममा पर्न सक्छ भनेर धम्की समेत दियो । यति भनेर उसले मलाई फेसबुकमा समेत ब्लक गरयो र मबाट सम्पर्क विहिन भयो । 

म छाँगाबाट खसेजस्तै भए । चारैतिर कालो बादल मडारिएको आभाष भयो । मुटु भक्कानिएर आयो । आँखाभरी आँशु आयो। मैले धेरै आफन्तहरुलाई यो कुरा सुनाए तर मेरो कुरालाई कसैले महत्व दिएनन् । अन्तिममा मैले कानूनी लडाई लड्ने निधो गरे । म वकिल कहाँ गए । कानूनी परामर्श लिए।नाता कायम अंश मुद्दाका लागि अनुरोध गरे। तर वकिलले अहिलेको कानूनी प्रावधानले यस्तो मिल्दैन भने । म माथि ठुलो अन्याय र धोका भएको थियो । म पीडै पीडाको सागरमा डुबेको थिए । जसरी पनि बदला लिनुपर्छ भन्ने मलाई लाग्यो । केही न केही कानूनी उपाय बताउन अनुरोध गरे । त्यसो भए जबरजस्ती करणीको जाहेरी दिन सकिने भनेर वकिलले बताए । प्रलोभन र झुक्यानमा पारी जबरजस्ती करणी गरेको भनी जाहेरी दिन सुझाए । 

मैलेपनि जाहेरी दर्ता गराउन गए। तर प्रहरीले जाहेरी दर्ता नै गर्न मानेन । हामी राम्ररी बुझ्छौ सत्य तथ्य के हो ? अनि मात्र दर्ता गर्छौ भने । दिन दिनै प्रहरी कार्यालय धाउन थाले तर पनि जाहेरी दर्ता गर्न मानेन । महिला अधिकारकर्मीहरुको जोडवलमा धौ धौ जाहेरी दर्ता गराए । अभियुक्त पनि पक्राउ गरयो । अनुसन्धान अगाडि बढ्दै गयो । प्रहरीले मलाई सोधपुछ गर्नुछ भनी कार्यालयमै बोलायो । मलाई थरी थरीका प्रश्नहरु सोधिन थाल्यो । मेरा अन्तरंग बारे सोधिने प्रश्नहरुले मलाई झन पीडा र लज्जाबोध हुन्थो । एउटै अश्लिल प्रश्नहरुलाई दोहोरयाई तेहेरयाई सोधिने गर्थ्यो । मेरा अन्तरअंग र यौन सम्बन्धी सोधिने अनौठा र अश्लिल प्रश्नहरुले मलाई झन पीडाबोध हुने गरथ्यो।

प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिलले फायल अदालतमा बुझायो । मैले वकिल राख्नुपर्छ कि भनी सरकारी वकिललाई सोधे । उहाँले पर्दैन भन्नुभयो । तपाई पीडितको तर्फबाट हामी सरकारी वकिलले नै बहस गर्छौ भन्नुभयो । बाँकी अनुसन्धान अदालतमा हुने रहेछ । पहिलो दिनको थुनछेककै दिन सरकारी वकिलले गरेको बहसमा म खासै सन्तुष्ट थिएन। उ त धनाढ्य मान्छे उसले लाखौ खर्च गरेर महंगो निजी वकिल राखेको थियो । उसको वकिलले त थरी थरीका प्रमाण पेश गर्दै चर्को चर्को स्वरमा लामो बहस गर्ने गर्थ्यो । विपक्षी वकिलले गरेको चर्को र लामो बहसले मलाई झस्काईरहेको थियो। 

विपक्षीको वकिलले गरेको झुठ्ठा तर्क र चर्को बहसले मेरो शरीर काँपीरहेको थियो । मैले सहन गर्न सकिन् म आफै उठेर बोल्न थाले । मेरा आँखाबाट आँसु बरर झरिरहेका थिए । मेरो मुख होइन मेरा भावनाहरु बोलिरहेका थिए। मेरा पीडाहरु छताछुल्ल भईरहेका थिए ।  छेउमै बसेका कालो कोटधारी विद्वान् वकिलले मेरा कुरा भुइमा झर्न नपाउँदै तर्क तेर्स्याउन थाले। मेरा सबै सतवचनलाई झुठ प्रमाणित गर्न एक पछि अर्को वनावटी प्रमाण पेश थाले। कला, गला र वाकशक्तिले दख्खल ती विद्वान् महोदय सामू मेरा धरमराएका शब्दहरु निरीह साबित भए । म झनै हतोत्साहित भए । बोल्नै सकिन् । न्यायासनमा आसिन न्यायमुर्तिले मलाई ढाढस दिदै हुनुहुन्थ्यो। तर म गलिसकेको थिए ।  न्याय त पैसा र पहुँच हुनेका लागि मात्रै रहेछ । न्याय पनि किनेर पाउँदो रहेछ । उहाँसँग त पैसा थियो र पो महंगो र नाम चलेका वकिल राखेछन् । पैसाकै जोडवलमा झुठ्ठा प्रमाण बनाउदै हिड्छन् । मलाई त छाक टार्ने गाह्रो, न त  महंगा वकिल राख्न सक्छु, न त वलियो प्रमाण वनाउन सक्छु । 

विवाह गर्ने प्रलोभनमा पारी मेरो सतित्व र अस्मिता सबै लुटे । मेरा ती सुकोमल अंगमाथि हमला गरे, आफ्नो पुरुषत्वको रासलिला देखाए । अविवाहीत भनी ढाँटेर मसँग प्रेमको नाटक गरे। मसँग त शारीरिक भोग मेटाउन रचिएका योजना र नाटकमन्चन पो रहेछन् । अब मेरो सहारा केही थिएन । सानै छँदा बुवा आमाको न्यानो मायाबाट टाढिएकी म न्यायको लागि भौतारिदै अदालतको ढोकासम्म पुगेको थिए ! मलाई पुनः अदालतले सोधपुछ अर्थात बकपत्रका लागि बोलायो । अदालतमा जानुभन्दा पहिले मलाई विभिन्न प्रलोभन आउन थाले । लाखौ रुपैया दिन्छौ बयान परिवर्तन गर्नुस् । सहमतिमै राजीखुशीले शारीरिक सम्पर्क भएको हो भन्नुस भन्न थाले । मैले मानिन् । मलाई ज्यान मार्न सम्मको धम्की आयो । तरपनि म डराईन् । म आफै पटक पटक मरिसकेको मान्छे मलाई मृत्यु देखी कुनै डर थिएन् । म त मात्र न्यायको खोजीमा थिए । अदालतमा पनि मलाई विभिन्न अश्लिल प्रश्नहरु सोधिए । पटक पटक वकिलले सोध्ने अन्तरअंग र यौन सम्बन्धी प्रश्नले म झन प्रताडित हुने गर्थे । तर पनि म विवश थिए । मेरो सामु अरु कुनै उपाय थिएन । अदालतमा मेरो बकपत्र त सकियो तर मेरो त्रास सकिएको थिएन । मलाई ज्यानको पनि जोखिम थियो। जतिवेला पनि म माथि हमला हुन सक्थ्यो ।  

मुद्दामा लगभम सबै अनुसन्धान सकिएको थियो । फैसला हुने दिन नजिकिदै थियो । म निजी वकिल राख्न सोचिरहेको थिए । तर के गर्नु निजी वकिल राख्न मसँग पैसा थिएन । अभावै अभावमा बाँचेको मेरो जिन्दगी लाखौ खर्च गरेर वकिल राख्न सक्ने मेरो हैसियत नै थिएन । नभन्दै केही दिनमा मुद्दा फैसला भयो । उक्त फैसलाले मलाई झन प्रताडित बनायो।मैले मुद्दा  हारे । विपक्षी निर्दोष साबित भयो र सफाई पायो। अदालततले हामी बीच सहमतीमै शारीरिक सम्बन्ध भएको पुष्टि गरयो। म झनै गले। निराशाले छायो । मलाई न्यायालयप्रतिको आशा र भरोसा सबै हरायो । म सोच्थे न्यायलयले पीडितका पीडा र भावना बुझ्छ होला । पीडितलाई न्याय दिन्छ होला, तर रहनेछ । मलाई पटक पटक प्रताडित बनायो । कहिले अनुसन्धानका नाममा कहिले सोधपुछका नाममा मलाई पीडामाथि पीडा भयो । अन्तिममा मैले न्याय पाइन् । यति भन्दै उनी भक्कानिएर रोइन् । मैले सम्झाउने कोशिस गरे । उनका दुखेका घाउँमा मलम लाउने प्रयत्न गरे । कुनै प्रमाण नपुगेर तपाई हार्नुभएको होला तर हार नखानुस् । जीवनको दायरा संकुचित हुन सक्दैन । कुनै एउटा घट्ना र पीडाले जीवनका सम्पूर्ण अवसर र सम्भावनाहरु निष्प्रभावी बनाउनु हुन्न । तपाई आफूलाई सम्हाल्नुस् । मनलाई वलियो बनाउनुस् । केही विग्रेको छैन । तपाई अझ सशक्त भएर अगाडी बढ्नुपर्छ । संघर्ष गर्नुपर्छ । जीवनमा अझ धेरै अवसर छन् । एक असल नागरिक बनेर देखाउनुस् । मैले उनलाई कानून (एलएलबी) पढ्न सुझाब दिएन । तपाई कानून पढ्नुस् र एउटा सफल वकिल भएर देखाउनुस्। तपाई जस्तै पीडितका पीडा र भावना बोल्नुस्।सशक्त आवाज उठाउनुस्। तपाईले धेरै गर्नुछ। मेरो तर्फबाट हुने सहयोग म तपाईलाई गर्नेछु । यति भनेपछि उनमा आशा पलाएर आयो । केही राहतको श्वास फेरिन् र एलएलबी पढेर वकिल बन्ने संकल्प बोक्दै मलाई धन्यवाद अर्पण गरिन् । 

-लेखक: नेपाल सरकारका कानून अधिकृत हुन् ।