काठमाडौं। अन्तिम दिन आजसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख बढी आवेदन परेको छ । नेपाल शेयर बजारको इतिहासमा यो सर्वसाधारणलाई निष्काशन गरिने प्राथमिक शेयर (आईपीओ) आवेदन गर्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । गत पुस २४ गते खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा झण्डै १३ लाखको आवेदन परेको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। सर्वसाधारणबाट परेको आवेदन कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सिडिएससीको मेरो शेयर अनलाइन पोर्टलमा समस्या आएपछि मंगलबार सिडिएससीले आईपीओमा आवेदन गर्ने समय १ घन्टा थपेको थियो ।

