काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड को १७ औँ संस्करण सपन्न भएको छ । मञ्चले मङ्लबार पुस २८ गते सातदोबाटोस्थित कराँते हलमा एक कार्यक्रमबीच अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

कोभिड १९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरिएको थियो । मञ्चले यस वर्षको पल्सर स्पोर्टस् अवार्डमा विभिन्न १० विधामा उत्कृष्टता हाँसिल गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।

उत्कृष्ट वर्ष खेलाडी:

मञ्चले यस वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीमा क्रमश कराँतेका मण्डेकाजी श्रेष्ठ र पौडिकी गौरिका सिंहलाई घोषणा गरेको छ ।

कराँतेका मण्डेकाजीले १३औँ सागमा एकै दिन दुई स्वर्ण जितेर उनी नेपालका लागि एकै दिन दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए । उनले सागमा एकल तथा टिम कातामा स्वर्ण जितेका थिए । उनले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण  तथा टिम कातामा रजत जितेका थिए । साफ च्याम्पियनसिपमा एकल कातमा स्वर्ण जितेका थिए । वर्ष पुरुष खेलाडीका लागि गल्फका सुवास तामाङ, फुटबलका विकेट कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए ।

पौडीकी गौरीका सिंहले १३औँ दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कास्य जितेकी थिईन् । उनले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा पौडीका १२ वटै विधामा स्वर्ण जितेकी थिइन् । यो अवार्डका लागि मनोनयनमा पर्नेमा कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

युवा वर्ष खेलाडी: गल्फका सुवास तामाङ्

मञ्चले यस वर्षको युवा वर्ष खेलाडी अवार्ड गल्फका सुवास तामाङलाई दिएको छ । उनले १३औँ सागमा एकल तथा टिम इभेन्टमा स्वर्ण जितेका थिए । उनी गल्फ खेलबाट नेपाललाई स्वर्ण जिताउने पहिलो खेलाडी हुन् । उनी गत वर्ष फिल्डो च्यालेन्ज सिरिजको छनोट तथा सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्जको च्याम्पियन बनेका थिए । यो विधाका लागि तेक्वान्दोेका भुपेन श्रेष्ठ, उसुकी पुनम श्रेष्ठ, भारोत्तोलकी मञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेन मनोनयमा परेका थिए ।

पिपुल्स च्वाइस अवार्ड: भलिबलकी अरुणा शाही

यस वर्षको पिपुल्स च्वाइस अवार्ड भलिबलकी अरुणा शाहीले हात पारेकी छन् । गत वर्ष नेपाली महिला भलिबल टिमले सागमा ऐतिहासिक रजत तथा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण जित्दा अरुणा टिमकी कप्तान थिइन् । यो अवार्डका लागि कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिक सिंह मनोनयनमा परेका थिए । 

टीम अफ दि इअर: नेपाल महिला भलिबल टीम

यस वर्षको टीम अफ दि इअर नेपाल महिला भलिबल टीमले हात पारेको छ । महिला भलिबलले १३औँ सागमा रजत तथा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो नेपाली भलिबलले प्राप्त गरेको पहिलो स्वर्ण थियो ।

वर्ष प्रशिक्षक: तेक्वान्दोका नवीनकुमार श्रेष्ठ

यस वर्षको वर्ष प्रशिक्षक अवार्ड तेक्वान्दोका नवीनकुमार श्रेष्ठले यो अवार्ड हात पारेका छन् । उनको प्रशिक्षणमा तेक्वान्दो टोलीले १३औँ सागमा १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो । यो सागमा तेक्वान्दोबाट सहभागी २९ खेलाडीले नै पदक हात पारेका थिए । नेपाली टोलीले चाइना इन्टरनेसनल च्याम्पियनसिपमा सहभागिता जनाउँदा श्रेष्ठ नै मुख्य प्रशिक्षक थिए ।

स्पेशल अवार्ड: एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य

यस वर्षको स्पेशल अवार्ड एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले हात पारेकी छन् । सन्तोषीले १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी नेपाललाई स्वर्ण जिताउने पहिलो महिला धाविका हुन् । सन्तोषीले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १५ सय मिटर दौडमा रजत, १० हजार मिटर दौडमा कास्य प्राप्त गरेकी थिइन् । 

आयशा नेपालका लागि एकै सागमा दोहोरो स्वर्ण हात पार्ने पहिलो महिला खेलाडी हुन् । उनले १३औँ सागमा तेक्वान्दोको पुम्सेबाट एकल तथा टिम इभेन्टमा स्वर्ण जितेकी थिइन् । उनले आठौँ बृहत् राष्ट्रिय प्रतियोगितामा कास्य जितेकी थिइन् ।

लाईफ टाइम एचिभमेन्ट अवार्ड: सिजरिन शाह र गीता क्षत्रीले

यस वर्षको लाईफ टाइम एचिभमेन्ट अवार्ड सिजरिन शाह र गीता क्षत्रीले प्राप्त गरेका छन् । उनीहरुले श्रीलंकामा सम्पन्न भएको पाँचौँ साग गेम्समा टेबलटेनिसको टिम इभेन्टसमा स्वर्ण पदक हात पारेका थिए । यो नेपालले टेबलटेनिसबाट प्राप्त गरेको एक मात्र स्वर्ण हो ।

पारा एथ्लेटिक सम्मान: दिगम सिंह चेम्जोङ

यस वर्ष पारा एथ्लेटिक सम्मानबाट दिगम सिंह चेम्जोङले स्मानीत भएका छन् । उनी निरन्तर रुपमा क्रिकेट, बास्केटबल र टेलबल टेनिस खेलिरहेका छन् । उनी पारा क्रिकेट टोलीका कप्तान हुन् । दिगमले गत वर्ष नेपालमा सम्पन्न ह्विल चियर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरामा भएको पारा टेबलटेनिसमा उनले रजत पदक जितेका थिए । उनी ह्विल चियर क्रिकेटमा पाकिस्तानको कराची इगल्सबाट खेलेर पहिलो नेपाली व्यावसायिक पारा खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान: मलेसियाका अहमद खवारी

यस वर्षको अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानबाट मलेसियाका अहमद खवारी सम्मानीत भएका छन् ।

पुरस्कार राशी:

पिपुल्स च्वाइस वर्षका महिला, पुरुष र प्रशिक्षकको अवार्ड विजेताले बजाजको मोटरसाइकल प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले जनही ५०–५० हजार रुपैयाँसहित डिसहोम र केल्मीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् ।