काठमाडौं । नेपालको शेयर बजार इतिहासमा हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १० गते बैङ्कलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
नेपाल इन्फ्रास्टक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनका लािग मंसिर ३ गते बसेको साधारणसभामार्फत प्रस्ताव पारित गरेको थियो ।
बैङ्कको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । बैङ्कले सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी शेयर बाँडफाँट गरे पश्चात बैङ्कको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैङ्कले जलविद्युत,सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएकाले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत सङ्कलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैङ्क नेपालकै पहिलो पूर्वाधार विकास बैङ्क हो । बैङ्कले जारी गर्न लागेको शेयर निष्काशन नेपाल शेयरबजारको इतिहासमा हालसम्मकै ठूलो रहेकोछ ।
बैङ्कले जारी गर्न लागेको शेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोषले काम गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

