मस्कट। टि-२० विश्वकप ग्लोबल छनौट अन्तर्गत नेपालले फिलिपिन्सलाई २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालका ओपनर कुशल भुर्तेलको सतक तथा दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको विशाल विजयी लक्ष्य दिएको हो।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले। दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा आउट भए। ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै (गोल्डेन डक) आउट हुँदा कुनै रन जोडेनन्। त्यस्तै कुशल मल्ल पाँचौँ ओभरको दोस्रो बलमा व्यक्तिगत १० सामना गर्दै २ चौकासहित १२ रनमा जोडर आउट भए।

फिलिपिन्ससँगको खेलमा नेपालले टि-२० करिअरकै उत्कृष्ट साझेदारी समेत गरेको छ। नेपालले गरेको उच्च साझेदारीमा कुशल भुर्तेलल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका छन्।

कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गरेका थिए । उनी नेपालबाट टि-२० मा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि नेपालमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन् २०१९ मा भुटा विरुद्ध १०७ रन तथा पूर्वकप्तान पारश खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रन बनाएका थिए।