पोखरा। आहा रारा गोल्ड कपमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपिएफले मच्छिन्द्रलाई ३-१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। 

खेलमा सुरुवाती अग्रता लिएको एपिएफले १० खलाडीमा समेटिएको मच्छिन्द्रलाई पराजित गरेको हो। एपिएफका लागि सनिस श्रेष्ठले खेलको २५औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। खेलको ४० औँ मिनेटमा मच्छिन्द्रका लागि ओमोलाजा नुरेन करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए पनि जितका लागि पर्याप्त भएन। खेलको ७१ औँ मिनेटमा मच्छिन्द्रका ओमोलाजा नुरेन करिनले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिदा मच्छिन्द्र १० खेलाडीमा सीमित हुन पुग्यो। 

त्यस पश्चात खेलको ७७औँ र इन्जुरी समयको ७ औँ मिनेटमा क्रमश प्रदीप लामा र नविन लामाले गोल गर्दै एपिएफलाई सहज जित दिलाए।

आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।