पोखरा। थ्री-स्टारलाई १-० ले हराउँदै नेपाली आर्मी आहा रारा गोल्डकप फूटबलको सेमीफाइनल प्रवेश गरेको छ। मङ्गलबार पोखरामा सम्पन्न खेलमा आर्मीले १-०ले थ्री-स्टारलाई हराएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७० औँ मिनेटमा आर्मीका लागि राजीव गुरुङले गोल गरे जुन जितका लागि निर्णायक बन्यो। खेलमा दुवै तर्फका खेलाडीले केही सुनौला अवसर खेर फालेका छन्। जितसँगै आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दीको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल एपिएफ र मछिन्द्रबीच हुनेछ।
आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।