धमाधम आईपिओ आउँदै; इन्फ्रास्ट्रक्चर बैङ्क र ज्योति लाईफ ईन्स्योरेन्स धितोपत्र बोर्डसँग अनुमति माग्दै
काठमाडौं । विभिन्न कम्पनीहरुले धमाधम आईपिओ जारीका लागि अनुमति माग्नेक्रम बढेको छ । नेपालमा हालसम्मकै ठूलो मानिएको इन्फ्रास्ट्रक्चर बैङ्कले धितोपत्रबोर्डसँग आईपिओ निष्काशनका लागि अनुमति मागेको छ त्यस्तै ज्योति लाईफ ईन्स्योरेन्सले पनि धितोपत्र बोर्ड समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।
मंसिर ३ गतेको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरेको बैंकले चुक्ता पूँजी २० अर्ब पुर्याउन ८ अर्ब बराबरको आईपिओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । नेपालकै पहिलो पूर्वाधार बैङ्कको रुपमा स्थापना हुन लागेको बैङ्कको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्ने भएको छ, भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
बैङ्कले जलविद्युत,सौर्य उर्जा, होटल,रिसोर्ट,फनपार्क,केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा लगानी गर्नेछ ।
त्यस्तै, ज्योति लाईफ ईन्स्योरेन्सले पनि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुर्याउन ६६ करोड बराबरको आईपिओ निष्काशनका लागि मंसिर १९ गते धितोपत्र बोर्ड समक्ष अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटललाई नियुक्त गरेको छ ।

