काठमाडौं। एपिएफले प्रधानमन्त्री कप टि -२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि हात पारेको छ । बुधबार त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि एपिएफले जितेको हो।

एपिएफको जितमा तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेला नायक बने। टस हारेर ब्याटिङमा उत्रेको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उेत्रको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाउँदा उपाधी रक्षा गर्न भने सकेन। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदानले पनि पुलिस उपाधि जित्नबाट चुक्यो।

खराब सुरुवात गरेको एपिएफका लागि अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रनको योगदान गरेका थिए।

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गरेका छन्। गत पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो।