काठमाण्डौं– सनराइज बैंक लिमिटेड र सानीभेरी गाँउपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको कार्यक्रममा सानीभेरी गा.पा.द्वारा अनुरोध/सिफारीस गरिएका संभाव्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा बैंकले विहीबार समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा सन्राइज बैंक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमूख दिपक पण्डित र सानीभेरी गा.पा.का तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
यस समझदारी पश्चात् सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
समझदारीपत्रका मुख्य बुदाँहरु :
–सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बंैक समक्ष सिफारिस गर्ने ।
–गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।
–कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ ।
–बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एस. एम. एस. लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिँदै छुट समेतको व्यवस्था गर्नेछ ।
उक्त कार्यक्रममा पश्चिम रुकुमका सभासद जनार्दन शर्मा, बैंक सञ्चालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको समुपस्थितीमा रहेको बैंकले जनाएको छ ।

