लण्डन। इङ्लिस प्रिमियर लिगमा चेल्सीले आफ्नै मैदानमा दुई गोलले पछि परेको अवस्थामा लिभरपुललाई बराबरीमा रोकेको छ। आइतबार राति सम्पन्न खेलमा चेल्सीले लिभरपुलसँग २-२ को बराबरी खेलेको हो।
खेलको नवौँ मिनेटमा साडियो माने र २६औँ मिनेटमा सलाहाले गोल गर्दा लिभरपुलले २-० को अग्रता लिएको थियो। तर खेलको ४२औँ मिनेटमा कोभासिचले २०यार्ड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेपछि चेल्सी खेलमा फर्किएको थियो। पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सीले खेल बरबबरी गरेको हो। दोस्रो हाफमा दुवै टिमबाट कुनैपनि सम्भव नहुँदा खेल बराबरीमा टुङ्गियो।
दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।
सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो । चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले हरायो ।