काठमाण्डौं – एनआईसी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ योजना सार्वजनिक गरेको छ ।
देश तथा विदेशका सम्पूर्ण ग्राहकमा रहेको फोटो खिच्ने कौशललाई कदर गर्दै ०७८ सालको क्यालेन्डरमा कैद गरिएका फोटोलाई स्थान दिन ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता एनआईसी बैंकले बुधबार सार्वजनिक गरेको हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै ग्राहकहरूमाझ सबल एवं सहज बैंकिङको अभ्यास गर्दै उक्त प्रतियोगिताको आयोजना गरेको बैंकले जनाएको छ । उक्त प्रतियोगितामा ग्राहकहरूले उत्कृष्ट फोटो पठाएर नगद पुरस्कार प्राप्त गर्ने र प्राप्त फोटोलाई क्यालेण्डरमासमेत राख्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार प्रतियोगितामा इच्छुक सहभागीले सिजन,होेप यान्ड पोजेटिभीटि, लाइफस्टाइल र फ्रेन्डसिप विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सकिनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी बैंकको लिंकमा अपलोड गर्नुपर्नेछ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरूलाई नयाँ वर्ष ०७८ सालको क्यालेण्डरमा प्रकाशन र प्रतिफोटो १० हजार रुपै’या नगद पुरस्कार प्रदान गर्ने बैंकले जनाएको छ ।
उक्त प्रतियोगिताको उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई सम्मानस्वरूप सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था बैंकले गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो पिक्सल, साइज, रिजोलुसन र ल्याण्डस्केप सम्बन्धी विस्तृत जानकारी वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

