काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले पहिलो पटकमै टि-२० सिरिज जितेको छ। नेपाली टोलीले कतारसँगको तीन खेलको सिरिजमा दोस्रो खेल पनि ६१ रनले जितेसँगै एक खेल अगाबै २-० ले सिरिज जितेको हो। यो नेपाली महिला टोलीले खेलेको पहिलो अन्तर्राष्ट्रिय टि-२० सिरिज हो। मंगलबार भएको खेलमा नेपालले कतारलाई किर्तिमानी ११९ रनले जितेको थियो।

बुधबार सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ् रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५० रन बनाउँदै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरिन्। नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर तीन बलमा ६८ रनमा अलआउट भयो र नेपालले ६१ रनले खेल जित्यो। बलिङतर्फ नेपालकी सरस्वती कुमारीले चार, रुबिना क्षेत्रीले दुई तथा सबनम राई, संगीता राई र कविता जोशीले एक/एक विकेट लिए।

अर्को खेल भोली बिहीबार हुनेछ। त्यस पश्चात नेपाली महिला टोली उतैबाट टि-२० महिला विश्वकप छनौट खेल्नाका लागि दुवई प्रस्थान गर्नेछ। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्। समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।