काठमाण्डौ ।  विश्व स्वास्थ्य संगठनले  एक बर्ष पछि कोरोना महामारी हट्ने प्रक्षेपण गरेको छ । 

गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताए । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्वीकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाइ छ । रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैनन् । अविश्वासका कारण खोप नलगाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजारभन्दा धेरै छ ।

बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो । त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशतभन्दा थोरैले खोप लगाएका छन् । जबकि अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् । डा। आयलवार्डले धनी देशहरूले गरिब देशहरुका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर खोप सहयोगका लागि तत्परता देखाउनुपर्ने बताए । विश्वभरका सबै मानिसले खोप प्राप्त नगरेसम्म कोरोना महामारी अन्त्य नहुने उनको चेतावनी छ ।

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंले खोप लगाउन मानिरहेका छैनन् । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन् ।