एजेन्सी । हिजो राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले बेटिसविरुद्ध शानदार जित निकालेको छ । 

बार्सिलोनाको घेरेलु मैदानमा भएको खेलमा बार्साले ५-२ गोल अन्तरले जित निकालेको हो । बार्साको जितमा कप्तान मेस्सी नायक बने । 

पहिलो हाफ मेस्सी बेन्चमा रहेको अवस्थामा १-१ गोलको बराबरीमा खेल सकिएको थियो । पहिलो हाफमा उस्माने डेम्बेलेको गोलमा अग्रता लिए पनि पहिलो हाफको इन्जुरी समयमा बेटिसका सानर्बियाले बराबरी गोल गरेको थियो । पहिलो हाफमा ग्रिजम्यानको पेनाल्टी ब्राभोले रोक्दै बार्सालाई निराश बनाएको थियो ।

दोस्रो हाफमा आन्सफातीको सब्टिच्युडमा कप्तान मेस्सी मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको ४९ औं मिनेटमा अल्बाको पासमा ग्रिजम्यानले गोल गर्दै पुन अग्रता लिन सफल भयो । खेलको ६० औं मिनेटमा बेटिसका डिफेन्टर मान्डिले गोललाईमा बल जोगाउने क्रममा हेन्डटच भएपछि रातो कार्ड खाँदै बाहिरिन बाध्य भए । त्यसमा प्राप्त पेनाल्टीमा मेस्सीले सहज गोल गर्दै अग्रता ३-१ मा पुर्र्‍याए । त्यसपछि खेलको ७३ मिनेटमा १० खेलाडिमा समेटिएको बेटिसका मोरोनले गोल गर्दै खेलमा फर्कने कोसिस गरेको थियो । तर ८२ औं मिनेटमा रोबेर्टोको पासमा मेस्सीले उत्कृष्ट गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्‍याए । र अन्तमा खेलको निर्धारित समयको ९० औं मिनेटमा रोबेर्ट कै पासमा पेड्रीले बार्साका लागि व्यक्तिगत दोस्रो तथा खेलमा ५ औं गोलको रुपमा गोल गर्न सफल भए । 

जित सँगै बार्सा ७ खेलमा ३ खेलमा जित, २ खेलमा बराबरी तथा २ खेलमा हार सामना गर्दै ११ अंकका साथ ८औं स्थामा उक्लेको छ । लिगको शीर्षस्थानमा एथ्लेटिको म्याड्रिड रहेको छ ।