एजेन्सी । आज बिहान भएको दक्षिण अमेरिकी विश्वक छनौट खेलमा नेमारको ह्याट्रिक मद्धतमा ब्राजिलले पुनरागमन जित निकालेको छ । 

ब्राजिल र पेरुबिचको खेलमा सुरुवाति अग्रता पेरुले  लिएको थियो । खेलको ६ मिनटमा नै कारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर खेलको २८ औं मिनेटमा पेनाल्टी गोल गर्दै नेमारले खेललाई बराबरीमा ल्याए । 

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको ५९ औं मिनेटमा पेरुले पुन अग्रता लिन सफल भयो । तर पेरुले अग्रतालाई जोगाइ राख्न  सकेन । खेलको ६४ औं मिनेटमा पुन रिचार्सलिसनको गोलबाट खेल बराबरीमा आयो । खेलको ८३ औं मिनेटमा पुन ब्राजिलले पेनाल्टीको अवसर पायो । जसमा पनि नेमारले सहजै गोल गर्दै ब्राजिललाई जिततर्फ डोहोर्‍याए । 

खेलमा दबाबमा आएको पेरुका दुई खेलाडीले लगातार ८६ र ८९ औं मिनेटमा रातो कार्ड व्यहोरे पछि पेरु जम्मा ९ खेलाडीमा समित हुन पुग्यो । त्यसको प्रत्यक्ष फाइदा लिँदै नेमारले खेलको ९०औं मिनेटमा व्यक्तिगत तेश्रो तथा टिमका लागि चौथो गोल गर्दा सम्मानजनक जित दिलाए । 

त्यस्तै आजै भएको अरु खेलहरुमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोल अन्तरले जित्न सफल भएको छ भने इक्वेडरले उरुग्वेलाई ४-२, पाराग्वेले भेनेजुएलालाई १-० ले जित्दा चिली र कोलम्बियाले २-२ गोल गर्दै बराबरी खेले ।