काठमाण्डौं । सरकारले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन श्वेतपत्र जारी गर्दै छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउन ‘अर्थतन्त्रको यथार्थपत्र’सार्वजनिक गन लाग्नु भएको हो । सामान्यतः नयाँ सरकारले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ । सोहीअनुसार अर्थमन्त्री शर्माले यथार्थपत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले हिजोनै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थपत्रको विषयमा जानकारी गराउनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकार बन्नुभन्दा अघिको आर्थिक अवस्था र अहिलेको अवस्था, कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त विवरणमा देशको अहिलेको अवस्था र चुनौतीलाई देखाएर निष्कर्षसहित अबको बाटो के–कस्तो हुने भन्नेपनि उल्लेख गरिएको छ ।००००
