काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७८४ जना सङ्क्रमणमुक्त भएका छन्। कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा सोमबार थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ।