काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आगामी महाधिवेशनपछि निश्चत समयसिमा तोकेर सदस्यता वितरणको काम गर्न सुझाव दिएको छ ।

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एंव पूर्वपदाधिकारीको बैठकमा समितिका संयोजक रमेश लेखकले सुझाव सहितको प्रतिवेदन पेश गर्नु भएको हो । प्रतिवेदमा अधिवेशनको वर्ष क्रियाशील सदस्यता सम्बन्धी काम गर्दा जटिल र विवादित हुने गरेको भन्दै आगामी महाधिवेशनदेखि उक्त परम्परालाई तोड्न सुझाव दिइएको छ । समितीले आगामी महाधिवेशनपछि पार्टी विधानको व्यवस्था अनुसारकै समयभित्र क्रियाशील सदस्यता वितरण सुरु गर्न र निश्चित अवधिभित्र वितरण बन्द गर्नुपर्ने सुझाव दिएको हो ।

समितिले ८ लाख ५२ हजार ७११ क्रियाशिल सदस्यतासहितको प्रतिवेदन पार्टी सभापति शरबहादुर देउवालाई बुझाएको छ । यो संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । ८ लाख ५२ हजारमध्ये ४ लाख ९ हजार ३३ जना भने पुरानै सदस्य रहेका छन् । विवरण अनुसार कुल सदस्यको ७४ दशमलव २६ प्रतिशत पुरुष र २२ दशमलव ६२ प्रतिशत महिला रहेका छन् ।

समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताबारे केन्द्रीय कार्यसमितिबाटै आवश्यक निर्णय लिन अनुरोध समेत गरेको छ । कांगे्रसको पदाधिकारी एंव पूर्वपदाधिकारीहरुको बैठक भोली बिहान ११ बजे बूढानीलकण्ठमा पुनः बस्ने संयोजक लेखकले जानकारी दिनुभयो ।००००