काठमाडौं । आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरूबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको बताए । आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खुम्चिएको शाक्यको स्पष्टीकरण थियो ।
कार्यकारी निर्देशक शाक्यका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा विद्युत चुहावट पनि फेरि बढ्न सुरु गरेको छ । २०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको कार्यकारी निर्देशक शाक्यले बताए । यो वर्ष १४.५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।
आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आर्थिक वर्षहरूमा निरन्तर घटाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो । चुहावटलाई आर्थिक वर्ष २०७३/७४ मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।
