काठमाडौं । नेपालले बिहिबार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका लागि चाइनिज ताइपेइसँग कुवेतमा खेल्दैछ ।

नेपालको लागि नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले छनोट खेलको तयारीको क्रममा इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । अलमुताइरीले नेपालको फूटबल स्तरोन्नतीका लागि भन्दै युवा खेलाडीहरुलाई समावेश गरी बनाएको टिमले इराकसँग ६-२ गोलले हारे पनि युवा टोलीमा प्रसस्तै सम्भावनाहरु भने देखिएको थियो ।

नेपाली समय अनुसार बिहीबार राति ९:४५ मा हुने खेलबारे बोल्दै प्रशिक्षक अलमुताइरीले कुवेतमा हुने खेल दुवै पक्षलाई गर्मीका कारण खेल्न गाह्रो हुने भए पनि चाइनिज ताइपेइविरुद्ध स्पष्ट जित निकाल्दै एसियन कप २०३३ का लागि सम्भावना बलियो बनाउने लक्ष्य रहेको बताएका छन् । यस अघिको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकप तथा एसियन कप छनौटको समूह 'बि' मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज समूहमा रहेका छन् । पाँच राष्ट्रबीच भएको छनौट खेलमा ४ खेलमा चारै जित निकाल्दै अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा रहेको छ भने कुवेत र जोर्डन ५ खेलमा ३/३ जीत १/१ खेलमा बराबरी गर्दै समान १०/१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपालले ५ खेलमा १ जीत ४ लेखमा पराजित हुँदै ३ अंकसहित चौथो स्थानमा छ भने ५ खेलमा ५ खेल मै पराजित भएको चाइनिज ताइपेइ पुछारमा रहेको छ ।

समूहमा कम्तिमा चौथो स्थान हासिल गर्न सके सिधै एसियन कपमा छनौट हुने हुँदा नेपालले चाइनिज ताइपेइविरुद्ध स्पष्ट जित निकाल्नु आवश्यक रहेको छ । समूहको पुछारमा परे पुन: एसियनको लागि प्लेअफ खेल्नु पर्ने हुन्छ ।