काठमाडौं। स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ। भिल्ला रियलले म्यानचेस्टर युनाइटेडलाई सडेन डेथमा ११-१० ले पराजित गर्दै पहिलो उपाधि जित्न सफल भएको हो।

गएराति सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी र अतिरिक्त समयमा गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०-१० प्रहार गोल गर्न सफल भएपनि सडेन डेथमा दुवै टिमका गोल रक्षकले ट्राइब्रेकर प्रहार गरेका थिए। त्यसक्रममा एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले गोल गरे भने युनाइटेडका डेविड डि हेयाको प्रहार रोक्दा भिल्लारियल च्याम्पियन बनेको हो।

खेलको सुरुवाती २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएपनि खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडलाई बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। दुवै टोलीले ३० मिनेटको अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।