काठमाडौं । आज राति भएको ला लिगाको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको हो । दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिए पनि बार्साले सेल्टालाई ३–० सहज जीत निकालेको हो ।
सेल्टाभिगोको घरेलु मैदानमा भएको खेलमा जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल एकरएक गरे भने एक गोल उपहार पाएको थियो ।
खेलको ११औं मिनेटमा कौन्टिन्होको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४२औं मिनेटमा सेल्टाको डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खाँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
बार्सा १० खेलाडीमा समेटिए पनि सेल्टाले त्यसको फाइदा लिन सकेन । खेलको ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्साले २–० को अग्रता लियो । खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा सर्जी रोबर्टोले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । यो सँगै बार्सिलोनाले लिगको दुई खेलमा सतप्रतिशत जित निकालेको छ ।