काठमाडौं। सरकारले देशभर थप ३० वटा अस्पतालसँग कोरोना सङ्क्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गरेसँगै अब देशभर १ सय २० अस्पतालबाट कोरोना सङ्क्रमितको नि:शुल्क उपचार हुने भएको छ। सरकारले प्रदेश १ को एक, प्रदेश २ मा दुई वटा, बागमती प्रदेशमा १७ वटा, गण्डकी प्रदेशमा दुई वटा, लुम्बिनी प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा ६ वटा अस्पतालसँग सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।

सरकारले नि:शुल्क उपचारको व्यवस्थाका लागि पछिल्लो पटक थप ३० वटा अस्पताहरूसँग सम्झौता गरेको हो। जसमा प्रदेश १ को नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ का वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेज, वाग्मती प्रदेशका सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज तथा डेन्टल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौँ नेशनल मेडिकल कलेज र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, समिट अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाहिनी चापागाउँ अस्पताल, आनन्दवन अस्पताल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन साइन्स र मेडिकेयर अस्पतालमा कोभिड–१९ केयर युनिटका लागि सम्झौता भएको छ। 

सरकारले गण्डकी प्रदेशको गण्डकी मेडिकल कलेज र मनिपाल कलेज अफ मेडिकल साइन्स तथा लुम्बिनी प्रदेशका युनिभर्सल कलेज अफ मेडिकल साइन्स र रेसुङ्गा अस्पताल, सुदूरपश्चिम प्रदेशको निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र, मायामेट्रो अस्पताल, श्री पद्मा अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै अब देशभर १ सय २० अस्पतालबाट कोरोना सङ्क्रमितको नि:शुल्क उपचार हुने भएको छ।