नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुभएको छ । 

आज यहाँ आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक छ भन्नुभयो । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गर्नुभयो ।

नेपालमा तीन सय ५० भन्दा बढी कोरियाली उद्यम रहेका जानकारी दिँदै उहाँले कोरियाका लागि नेपाल एक आकर्षक लगानी गन्तव्य भइसकेको पनि स्पष्ट गर्नुभयो । नेपालमा अत्याधुनिक कोरियाली प्रविधि भित्र्याएर नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको उपयोगबाट लाभ लिन सकिने अध्यक्ष ढकालको सुझाव थियो । 

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा कोरियालाई दक्षिण एसिया क्षेत्रकै व्यापारमा सहयोग पुग्ने र नेपालले विकासोन्मुख देशका रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न कोरियासँगको साझेदारी महत्वपूर्ण हुने तर्क गर्नुभयो । केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिँदै औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने हुँदा त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन उहाँको आग्रह थियो । 

अध्यक्ष ढकालले कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरू रहेका भन्दै कोरियाली लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन आग्रह गर्नुभयो ।