-दान बहादुर सुनार

विवाहित महिला वा पुरुषले आफ्नो जीवनसाथी बाहेक अन्य व्यक्तिसँग राख्ने यौन सम्बन्ध नै परपुरुष र परस्त्री यौन सम्बन्ध हो । हाम्रो समाज अहिले यौनका मामिलामा उदार हुँदै गएको देखिन्छ । पश्चिमा संस्कृतिको सिको गर्दै जाँदा अहिले हाम्रो समाजमा विभिन्न ठाउँमा यस्ता घट्नाहरु तीव्र रुपमा बढिरहेको पाउन सकिन्छ । यी र यस्तै कुराहरु युट्युबरहरुले पनि खोजी खोजी प्रकाशन र प्रशारण गर्ने गरेका छन् । यौन र यौनिकतासँग जोडिएका यस्ता विषयहरुमा प्रायः धेरैको चासोको विषय बन्ने भएकाले पनि भ्युज बढाउनकै लागि भएपनि युट्युबरहरुले यस्ता विषयवस्तु प्राथमकिता राखी प्रशारण गर्दछन् ।

हाम्रो समाजमा विवाहलाई पवित्र सम्बन्ध मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने वाचा-कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा हुने गर्छ। चरम आर्थिक अभाव, पछौटेपन र गरिबीका कारण पनि कैयन महिलाहरुले त यौनलाई व्यापार व्यवसायकै रुपमा लिने गरेका छन् । लुकीछिपी विभिन्न ठाउँमा यौन आँखडा नै खोलिएका हुन्छन् ।  कतिपय नाम चलेकाले पनि छिट्टै धनी बन्ने सपनाका कारण पनि मोटो रकम लिई यौन धन्दा गरिरहेका गतिविधिहरु पनि विभिन्न सञ्चार माध्यममा पटक पटक देख्न र सुन्न पाइन्छन् ।  

आधुनिक समाजको गतिविधिहरु हेर्दा महिलाहरु मात्रै होइन । पुरुषहरु पनि यौन व्यापारमा लागेका छन् । कतिपय स्थानमा त पुरुषहरु पनि मोटो रकम लिई महिलाहरुको लागि यौन प्यास मेटाउने माध्यम बनेका छन्। यौनका मामिलामा हाम्रो समाज जति संवेदनशील र कठोर छ त्यति नै मात्रामा भित्री रुपमा यो व्यवसाय फस्टाएका छन् । 

यौनका विषयमा कानून र समाज बीच कहि न कतै द्वन्द्व समेत रहेको पाउन सकिन्छ । मुलुकी अपराध संहितामा भएको व्यवस्था हेर्दा, उमेर पुगेका महिला वा पुरुष बीचमा सहमतिमै हुने यौन सम्बन्धलाई अपराधको रुपमा हेरेको छैन । करणी सम्बन्धी कसूरको व्यवस्था हेर्दा समेत परपुरुष र परस्त्री बीच भएको यौन सम्बन्धलाई कसूर कायम गरिदैन । सहमतिमै सम्बन्ध राखिएको पुष्टि भए आरोपित व्यक्तिले सफाई पाउँछ । चाहे तिनीहरुको घरमा पति वा पत्नी भएपनि तिनीहरुका बीचमा हुने सहमतिको शारीरिक सम्बन्धलाई अपराधको रुपमा ग्रहण गरिदैन। 

कानूनतः उमेर पुगेका व्यक्तिहरु बीचमा सहमतिमै हुने शारीरिक सम्बन्धलाई पूर्णतः बर्जित गरिएको नभएपनि हाम्रो समाजले यस्ता कुराहरुलाई स्वीकृति दिँदैन । हाम्रो समाजको दृष्टिकोणमा यो अपराध हो । समाजको दृष्टिकोणमा यस्ता गतिविधिहरु अनैतिक र अपाच्य विषय हुन । त्यति मात्रै होइन हाम्रो समाजको नजरमा यो दण्डनीय विषय पनि हो । 

तथापी हाम्रा कानूनका केही प्रावधानहरु हेर्दा यी विषयहरुलाई हाम्रो कानूनले समेत पूर्णतयाः स्वीकृति दिइसकेको देखिदैन । सहमतिको यौन सम्बन्धलाई कानूनले स्वीकार गर्न नसकेका केही कानूनी व्यवस्था देख्न सकिन्छ । मुलुकी देवानी संहितामा रहेको सम्बन्ध बिच्छेद सम्बन्धी कानूनी व्यवस्था हेर्दा, पतिले अन्य परस्त्री वा पत्नीले अन्य परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा डिभोर्स गर्न मिल्ने कानूनी आधारको रुपमा रहेको छ । यो प्रावधान हेर्दा समेत हाम्रा कानूनले परपुरुष र परस्त्री सम्बन्धलाई पचाउन सकेको देखिदैन । सामाजिक न्याय र कानूनी दृष्टिकोणले समेत परपुरुष परस्त्री सम्बन्धलाई स्वीकार गर्न सक्ने देखिदैन । 

एकातिर परपुरुष परस्त्री यौन सम्बन्ध राखेको ठहरेमा डिभोर्स गर्न मिल्ने कानूनी व्यवस्था छ, भने अर्कोतिर आर्थिक लाभको लागि यौन सम्बन्ध राखेमा वेश्यावृत्तिको कसूर मानी दण्डको व्यवस्था गरिएकाले पनि यस्ता सम्बन्धहरु हाम्रो कानूनको नजरमा समेत जायज देखिदैनन् । 

मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐनमा रहेको कानूनी व्यवस्था हेर्दा, बेश्वावृत्ति वा देहव्यापारलाई कसूर रुपमा लिई दण्डको व्यवस्था गरेको छ । आर्थिक लाभको लागि अन्य पुरुष वा महिलासँग सहमतिमै  यौन सम्बन्ध राख्नु वा कुनै यौन सेवा प्रदान गर्नुलाई कानूनले  वेश्यावृत्ति  वा देहव्यापार को रुपमा चिन्ने गर्दछ । यस्ता कार्यहरु कानूनतः कसूर हुन। र यस्ता कार्य गर्ने गराउनेलाई कानूनले दण्डको व्यवस्था गरेको छ ।  यसर्थ नेपालका समकालिन कानूनका केहि प्रावधानहरु हेर्दा समेत परपुरुष वा परस्त्री बीचमा सहमतिमै हुने यौन सम्बन्धलाई पूर्णतया स्वीकार गरिसकेको छैन । हाम्रा सामाजिक प्रथा र परम्पराले बर्जित गरेका कुराहरुलाई कानूनले समेत आंशिक समर्थन गरेको देखिन्छ ।    

श्रीमान श्रीमतीबीच खुलेर कुरा नहुने र एकअर्कालाई नबुझ्ने जोडीहरूमा परपुरुष वा परस्त्रीको आगमन हुने सम्भावना बढी रहन्छ। तर, यसरी मन, भावना नमिल्दैमा र यौनसन्तुष्टि पूरा भएन भन्दैमा अरुसँग सम्बन्ध राख्नुलाई समाजले राम्रो मान्दैन । यस्तो सम्बन्ध कानूनले पनि अवैध ठहर गरेको छ । 

जसले जे सुकै भनेपनि यो हाम्रो सामाजिक रितीसंस्कृति र परम्पराको दृष्टिकोणले पनि अपाच्य विषय हो । यसलाई हाम्रो समाजले पचाउँदैन । अनैतिक र अमर्यादित रुपमा यसलाई लिने गर्छ । व्यक्तिगत नैतिक आचरणसँग जोडेर यसलाई लिने गरिन्छ । यस्तो कार्यमा लागेका व्यक्तिहरुलाई हाम्रो समाजले कहिल्यै पनि असल दृष्टिकोणले हेर्दैन । 
परपुरुष परस्त्री यौन सम्बन्धले विवाह पश्चातका कतिपय दाम्पत्य सम्बन्धहरुमा दरार पैदा भएको पाउन सकिन्छ । सुन्दर परिवार पनि छिन्नभिन्न भएका छन् । बिशेष गरी यौनका मामिलामा परपुरुष र परसस्त्रीसँको आकर्षण र शारीरिक सम्बन्धले जटिलता ल्याउने गरेको छ । 

बाहिर सम्बन्धमा रहेका पुरुष वा महिलाको घरमा आत्मिय सम्बन्ध रहन सक्दैन् । विश्वासको खडेरी देखा पर्दछ भन्ने एउटाले बाहिर सम्बन्ध राख्दा अर्कोले पनि बाहिर सम्बन्ध राख्न बाध्य हुने अवस्था आउन सक्छ ।  हाम्रो समाजको परम्परा, प्रचलन र प्रथाले समेत परपुरुष, परस्त्री सम्बन्ध र विवाहपूर्वको यौन सम्बन्धलाई बर्जित गरेको छ । यस्ता सम्बन्धमा रहेका व्यक्तिहरुलाई हाम्रो समाजले कहिल्यै राम्रो नजरले हेर्दैन। समाजको नजरमा उ जहिले नि चरित्रहिन देखिन्छ । तसर्थ यौन स्वतन्त्रताका नाममा विदेशी प्रवृत्ति र प्रचलनका उदाहरण देखाएर समाजमा यौन विकृति ननिम्त्याउँ । अनुशासन, मर्यादा र प्रतिष्ठा कायम गरौँ । समाजलाई सभ्य र सन्तुलित बनाउँ । पारीवारिक समधुरता, आत्मियता र सच्चरित्रता कायम गरौँ । 

- लेखक कानून अधिकृत, नेपाल सरकार ।।