चितवन। राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व तिलकप्रसाद सापकोटाको आज निधन भएको छ । विसं २००१ माघ १७ गते बागलुङको दमेकमा जन्मिनुभएका सापकोटा गैँडाकोट नगरपालिका वडा नं ८ मा बसोबास गर्दै आउनुभएको थियो ।
दम रोगका कारण विगत तीन वर्षदेखि समस्या भोग्दै आउनुभएका सापकोटामा थप समस्या देखिएपछि मङ्गलबार दिउँसो १ बजे भरतपुर अस्पताल ल्याइएको थियो । राति सेन्ट्रर अस्पताल लगिएका उहाँको आज बिहान ११ः४५ बजे निधन भएको परिवारले जानकारी दिएको छ ।
बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आउनुभएका नेपाली कांग्रेसका पुराना नेता सापकोटाका दुई श्रीमती, सात छोरा र चार छोरी हुनुहुन्छ । छोराहरू देशबाहिर रहेकाले उहाँको अन्त्येष्टि शुक्रबार या शनिबार गरिने परिवारिक स्रोतले जनाएको छ ।
को हुनुहुन्थ्यो सापकोटा ?
आफ्ना पिताजी भूमिश्वर सापकोटालाई भेट्न नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला बागलुङको दमेकमा आउँदा १४ वर्षीय तिलक राजनीतितर्फ आकर्षित हुनुभयो । बाल्यकालदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभएका सापकोटाले कालान्तरमा आफ्नो क्षेत्रमा आफ्नै भाग काटेर विपीपुत्र डा शशांक कोइरालालाई उम्मेदवार बनाउनुभयो ।
केही वर्षअघि सापकोटाको पुस्तक ‘यात्रा निरन्तर’ विमोचन समारोहमा कांग्रेसका महामन्त्री डा कोइरालाले भन्नुभएको थियो, “आफ्नो राजनीति पद मलाई दिएर यहाँ ल्याउनुहुने सापकोटाप्रति म ऋणी छु ।” त्यसो त सापकोटाको राजनीतिक जीवन आफैँमा एउटा इतिहास रहेको उहाँका समकक्षीहरु बताउँछन् । सापकोटाको पुस्तकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँलाई आफ्नो गाउँठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारका एक अभियान्ता भएको उल्लेख गर्नुभएको छ । सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निभाउने सापकोटा यही क्रममा जेलनेल व्यहोर्ने तर बाहिर जगत्को चिनारीमा आउन नचाहने एक उदाहारणीय पात्र भएको देउवाले पुस्तकमा शुभकामना दिँदै लेख्नुभएको छ ।
नवलपरासीको गौँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटको योगदान जति उल्लेख्य छ त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवद्र्धनका दृष्टिमा पनि उहाँको अतुलनीय नाम जोडिएको छ । राजनीतिको केन्द्र काठमाडौँसँग प्रत्यक्ष–परोक्ष सम्पर्कमा रहे पनि सत्ता, शक्ति र पहुँचमा जोडिनुभन्दा आफ्नै माटोको धरातलमा रम्दै–रमाउँदै स्वान्त–सुखाय जीवन बिताउनुभएका सापकोटाको निरन्तर यात्रा अझै पनि यथावत छ, उत्तिकै अनुपम र अनुकरणीय छ– पुस्तकमा देउवाले भन्नुभएको छ ।
पुस्तकमा अगाडि लेखिएको छ, “मलाई गाढा सम्झना छ– संवत् २०२७÷२८ तिर नेविसङ्घको अधिवेशन गैँडाकोटमा हुँदा म नारायणीमा डुङ्गा चढेर पारि गएको थिए । पहिलोपटक मैले तिलक सापकोटालाई भेटेको र चिनजान भएको त्यही हो ।” त्यसपछि जनमत सङ्ग्रहको बेलामा विपी कोइराला भारतबाट फर्केर देश आउँदा विपीसँगै चितवनमा तिलकजीलाई आफूले भेटेको देउवाले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “तिलकजी अत्यन्तै भलाद्मी र सम्मानजनक व्यक्ति हुनुहन्छ । उहाँ जहिल्यै पनि आफ्नोभन्दा पार्टीको चिन्ता गर्ने कार्यकर्ताका रूपमा मैले पाएको छु ।”
राजनीतिक अभियोगमा विसं २०४० देखि रुपन्देही, पाल्पासहितका कारागारमा चार वर्ष बन्दी जीवन बिताउनुभएका सापकोटा कांग्रेसमा विसं २०१५ देखि सक्रिय रहनुभएको थियो । सापकोटाले जननेता विपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो । सापकोटा गैँडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठको संस्थापनादेखि हालसम्म अध्यक्ष हुनुहुन्थ्यो । कालिका नमूना माध्यमिक विद्यालयको संस्थापक एवं पूर्वअध्यक्ष हुनुहुन्थ्यो । विजय विकास स्रोत केन्द्रको उहाँ उत्प्रेरक हुनुहुन्थ्यो ।
गैँडाकोटको कालिका मन्दिर र कालिका आश्रमका संस्थापक एवं आजीवन सदस्य उहाँ देवघाट क्षेत्र विकास समितिको पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । सुकुम्बासी आयोगका पूर्व केन्द्रीय सदस्य सापकोटाकै अगुवाइमा गैँडाकोट जयश्री कुलो निर्माण गरिएको हो । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका आजीवन सदस्य उहाँ एक प्रजातान्त्रिक सेनानीका रूपमा देशैभर परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेसका संस्थापक नेताहरूको आश्रयस्थल घरलाई बनाउनुभएका सापकोटाको निवास पञ्चायतविरुद्धको लडाइमा आश्रयस्थलको रूपमा परिचित थियो ।
प्रजातन्त्र सेनानी सङ्घका संस्थापक एवं केन्द्रीय सदस्य उहाँ पार्टीका विभिन्न पद हुँदै सधैँ सल्लाहकारको भूमिकामा रहनुभयो । विसं २०३६ को जनमतसङ्ग्रहमा बागलुङ बसेर बहुदलको पक्षमा माहोल बनाएपछि राज्यसत्ताका निम्ति उहाँ निसानामा पर्नुभयो । राजनीतिक यात्रामा उहाँ विसं २०२८ पछि बागलुङ र नवलपरासी जिल्लाको पार्टी सचिवका रूपमा काम गर्नुभएको थियो । आफू राजनीतिक र सामाजिकरूपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर तीन पटकसम्म कोइरालालाई संसद् पठाउने त्यागी नेताका रूपमा सापकोटा चिनिनुहुन्छ ।
सापकोटाको निधनसँगै राससका वरिष्ठ सम्पादक कृष्ण सापकोटा पितृशोकमा पर्नुभएको छ । राससको अङ्ग्रेजी सम्पादन शाखामा कार्यरत कृष्ण सापकोटा स्व सापकोटाका कान्छा सुपुत्र हुनुहुन्छ ।