कुश्मा।  सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ ? त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । 

गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन् । “जैविक विविधताले भरिपूर्ण र अनेकौँ प्रजातिका चराचुरुङ्गी, जनावर, रुखबिरुवा र क्षेत्र पर्या–पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य हो ।” 

पर्यावरणीय पर्यटनका लागि गाउँपालिकाले गन्तब्य पहिचानको काम पूरा गरिसकेको छ । कास्कीको विरेठाँटीदेखि म्याग्दीको घोरेपानी, मोहरेडाँडा र पुनहिलसम्म जाने अन्नपूर्ण सर्किटको एक पदमार्ग यही जलजला क्षेत्रमा पर्दछ । त्यस्तै माछामासु नखाने गाउँ, सुन्तलाको बगैँचाले ढाकेको गाउँ, मगर जातिको कला, संस्कृति र उनीहरुले सञ्चालन गर्ने पाहुना घर यस पालिकाका विशेषता हुन् । यहाँको  कालञ्जर पहाड, ऐतिहासिक मल्लाज दरबार र दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिने फलामेडाँडासहितका गन्तब्य पर्यटकको पर्खाइमा छन् । 

“कुश्माको अर्मादीदेखि सजिलै गाडीमा बनौँसम्म पुग्न सकिन्छ र त्यहाँबाट तीन वटा जिल्ला पर्वत, बागलुङ र म्याग्दीको सदरमुकामलाई टाउको नहल्लाई एकसाथ देख्न सकिन्छ”, बनौँका वडाध्यक्ष गौबहादुर पुनले भन्नुभयो, “यही बाटो हुँदै कालञ्जर पहाड पुगेर एकसाथ १० जिल्लालाई नियाल्न पनि सकिन्छ ।” 

कालञ्जर पर्वत

हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो, ‘कालञ्जर पर्वत’ । अहिले हम्पालको नामले पनि चिन्ने गरिएको छ । समुन्द्री सतहदेखि कालञ्जर पर्वत तीन हजारदेखि ३५ सय मिटरको उचाइमा छ ।

हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको लेकफाँट र शालिजामा फैलिएको छ । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको यस ठाउँबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छे«, मनास्लुलगायत १६ भन्दा बढी हिमाल देख्न सकिन्छ । त्यति मात्र नभएर पर्वत बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङसहित १० जिल्लाको अवलोकन गर्न सकिन्छ ।

“यस ठाउँमा फराकिलो र ठूलो दह छ, यहाँको पानीलाई एकीकृत गरेर ताल निर्माण गर्न सकियो भने पर्यटनको क्षेत्रमा समग्र जिल्लाले नै फड्को मार्ने देखिन्छ”, जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जिसीले भन्नुभयो, “जाडो मौसममा यस ठाउँ पूरै हिउँले ढाकिने हुँदा विदेशमा जस्तो हिउँमा खेलिने स्केटिङलगायतका खेल यहाँ खेल्न सकिन्छ । अन्य मौसममा चाहिँ डुङ्गा सयर गर्दै प्रकृतिको आन्नद उठाउन सकिन्छ ।” 

फलामे डाँडा 

पर्यटकको पर्खाइमा बसिरहेको गन्तब्य हो फलामेडाँडा । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमिन छ । पहाडको टुप्पोमा समथर फाँट रहेको फलामे डाँडाबाट आँखै अगाडि हातैले छोइएला जस्तोे सेता हिमालका लोभलाग्दो दृश्य देख्न सकिन्छ । यहाँबाटसमेत धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरिलगायतका हिमालहरु र पहाडी भूगोलको मनोरम दृश्यले मनलाई आनन्दित बनाउँछ । 

गर्मी महिनामा पनि चिसो वातावरण हुने भएको हुँदा छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँदेखि पर्यटकहरु यहाँसम्म पुग्ने गर्छन् । कच्ची सडकका कारण यात्रा केही असहज हुने गरेको पर्यटकहरु सुनाउँछन् । “मिलनचोकदेखि गाडीमा आउँदा जम्मा आधा घण्टाको बाटो हो ।”, स्थानीय सोम पुर्जाले भन्नुभयो, “कच्ची सडकले गर्दा डेढ घण्टा जस्तो लाग्ने गर्छ । बर्खामा चाहिँ गाडी गुड्न धेरै नै समस्या हुन्छ । अप्ठ्यारो बाटो हँदा समेत एक रात बस्ने र बिहान हिमाल हेर्ने गरेर पर्यटक आउने गर्छन् ।”

अहिले यहाँ सामुदायिक पाहुनाघर सञ्चालनमा पनि ल्याइएको छ । करबाकेली पदमार्ग समेत रहेको हुँदा पुनहिल, घोडेपानी पुग्ने पाहुनालाई खान र बस्न सहजताका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन् ।