काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रामेछापका टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो । रामेछाप सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी घिसिङलाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको हो ।
खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए । उनले माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । आईतबार साँझ सिफारिस समितिले घिसिङ सहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासंग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुती सकेर समितिले एक महिला सहित तीन जनाको नाम तयार गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ ।
सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।