चितवन । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । 

महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्ने छ ।

१०–१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ । उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र भने ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ । 

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि होटलका कोठा बुक गरिएको छ ।

बन्द सत्रमा सहभागीका लागि सौराहामा पाँच छाक खानाको तयारी गरिएको छ । खाना खाजा र कोठाका लागि आयोजकले व्यवसायीहरूसँग आधिकारिक रूपमा सम्झौता भने गरिसकेको छैन । १० मंसिर राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ । 

११ र १२ मंसिरको बिहानको खाजा ९ब्रेकफास्ट० र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको छ । दुई दिनको दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ । त्यसका लागि आयोजकले क्याटरिङलाई जिम्मा दिँदै छ । 

बन्द सत्र हुने होटलको नजिकै खाली चौरमा पण्डाल बनाइएको छ । पण्डालबाट पार्टी अध्यक्षले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो । ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने उहाँले बताउनुभयो ।।

आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिने होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले बताउनुभयो । ‘खाजा खानाका लागि लगभग म्यान्डेट पाइसक्यौँ । तर पनि औपचारिकता पूरा गर्न बाँकी छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि औपचारिकता पनि सकिन्छ’, उहाँले बताउनुभयो । 

तर ब्रेकफास्टको मेन्यु भने तयार भइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार खानामा दाल, भात, तरकारी र मासुको व्यवस्था हुने छ । खाजा तथा खानाको मेन्यु तयार गर्ने विषयमा मोनिटरिङका लागि सोल्टी र हायत होटलबाट अनुभवी सेफहरूलाई ल्याइने उहाँले बताउनुभयो ।