काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्को अवरोध खुलाउने प्रयास जारी रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले संसदमा जारी प्रमुख प्रतिपक्षी दलको अवरोध खुलाउने विषयमा संवादका लागि अझै कोसिस गर्ने बताउनु भएको हो । बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा दलका नेताहरुका सुझावपछि प्रधानमन्त्रीले संसद्को कार्यसञ्चालनका विषयमा प्रमुख प्रतिपक्षीसँगको संवादका लागि अझै कोसिस गर्ने बताउनु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
बैठकमा संघीय संसद्मा भइरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । बैठकमा सहभागी शीर्ष नेताहरुले संसद सञ्चालनका लागि प्रधानमन्त्रीले लिएको पहलकदमी सकारात्मक रहेको भन्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । जवाफमा देउवाले एमाले अध्यक्ष केपि शर्मा ओलीसँग पुनः संवादका लागि पहल गर्ने बताउनु भएको थियो ।
बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा जनताको दैनिकीसँग जोडिएका विधेयकहरु अलपत्र अवस्थामा रहेको भन्दै संसद् सञ्चालनमा आएको अवरोधले ती विधेयकहरुलाई अन्योलको अवस्थामा पु¥याएको बताउनुभयो । मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भाग्न खोजेको आरोप समेत लगाउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरू वार्ता र संवादबाट भाग्न खोजेको सरकारको आरोप निराधार रहेको दाबी गरेको छ ।००००