काठमाडौं । २०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् ।
नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् । यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन्।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् । बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।
