काठमाडौं । साताको दोस्रो दिन आज नेप्सेमा करेक्सन देखिएको छ ।  अघिल्लो सातादेखि लगातर बढी रहेको बजार आज ४५ दशमलव २५ अंकले घटेर २ हजार ७ सय ६८ विन्दुमा झरेको छ । 

पछिल्लो समय नयाँ नयाँ रेकर्डहरु कायम गर्दै अघि बढेको बजारमा आज पनि कारोबार भने १३ अर्ब ९० करोड बढी भएको छ । अघिल्लो दिनको भन्दा ३ करोडले कमि भए पनि नेपालको इतिहासमा हेर्ने हो भने अत्याधिक नै हो ।

नेप्से ऋणात्मक भएको बजारमा ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर १ लाख ४८ हजार ७ सय १५ पटक खरिदबिक्री भएको छ भने आज २ सय १८ कम्पनीको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका १३ उपसमूहमध्ये म्युच्युअल फन्डबाहेक सबै समूह ऋणात्मक बनेको बजारमा सबैभन्दा बढी ४ दशमलव ३१ प्रतिशतले फाइनान्स उपसमूह घटेको छ भने दोस्रोमा ३ दशमलव ७९ प्रतिशतले ट्रेडिङ उपसमूह घटेको छ ।  

बजारमा ४५ अंकको करेक्सन देखिए पनि २ कम्पनीहरु राधी हाइड्रो र सेन्ट्रल फाइनान्सको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ भने अध्याधिक गुमाउनेमा अधिकांश हाइड्रो पावरहरुको लगानीकर्ताहरु रहेका छन् । जसमा् सबैभन्दा बढी बरुण हाइड्रो ९ दशमलव ५७ प्रतिशत रहेको छ ।