काठमाडौं । लगतार बढी रहेको शेयर बजार हिजो बुधबार आएर करेक्सन देखिए पनि साताको अन्तिम दिन आज बढेर बन्द भएको छ ।
अघिल्लो दिन १३ अंकले घटेको बजार आज ६ दशमलव ३७ अंकले बढदै २ हजार ७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले बढेर ४ सय ९८ दशमलव ९७ विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने करिब ३ अर्बले कमी आएको छ । अघिल्लो दिन १२ अर्ब नजिक कारोबार भएकोमा आज ९ अर्ब ३० करोड मात्रै नाघेको छ । एक दिनको करेक्सन पछि पुन बढेको बजारमा २ सय १४ कम्पनीको करिब २ करोड १ लाख ३३ हजार बढी संख्यामा शेयर खरिद बिक्री भएको छ ।
केही दिन लगतार हाइड्रो समुहमा देखिएका लगानी कर्ता आज फाइनान्स समूहमा झुम्मिएका छन् । कारोबारमा आएका १३ उपसमूहमध्ये सबैभन्दा बढी फाइनान्स उपसमूह ६ दशमलव १२ प्रतिशतले बढेको छ भने दोस्रोमा डेभलपमेन्ट बैक ३ प्रतिशत बढीले बढेको छ । त्यस्तै बढ्ने उपसमूहमा वाणिज्य बैक, अन्य र मिच्यअल फन्ड समूह रहँदा अन्य ८ उपसमूहहरु ऋणात्मक बन्यो । जसमध्यै हाइड्रो उपसमूह सबैभन्दा बढी १ दशमलव ५ प्रतिशतले घट्न पुग्यो ।
फाइनान्स उपसमूह बढेको बजारमा सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा पनि फाइनान्स कम्पनीहरु नै रहेका छन् । मान्जुश्री फाइनान्स र गुडविल फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्दा गोर्खाज फाइनान्स, जानकी फाइनान्स र गुज्वेश्वरी फाइनान्सको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । फाइनान्ससँगै ९ प्रतिशत बढीले शेयर मूल्य बढ्नेमा समाता माइक्रोफाइनान्स र युनाइटेड इदिमार्दी हाइड्रो रहेका छन् ।
आजको बजारमा पनि ट्रनओभरमा भने नेपाल पुनर्बीमा कम्पनी नै अगाडी रहेको छ । यस आज ३४ करोड ७० लाख बढीको शेयर खरिद बिक्री भएको छ भने दोस्रोमा बैंक अफ काठमान्डूको ३४ करोड १ लाख बढीको कारोबार भएको छ ।

