काठमाडौं । साताको पहिलो दिनदेखि उल्लेख्य रुपमा बढ्दै आएको नेप्से आज बुधबार सामान्य करेक्सन देखिएको छ । बढ्दो बजारमा प्रोफिट बुकिङ्ग गर्ने लगानीकर्ता हाबी हुँदा बजारमा करेक्सन आएको हो । 

नेप्से परिसूचक १३ अंकले घटेर २ हजार ७ सय ८० बिन्दुमा झरे पनि अघिल्लो दिनको ऐतिहासिक कारोबारलाई आज ६० करोडले बढेर ११ अर्ब ९५  करोडको कारोबार हुँदै नयाँ उचाईमा पुगेको छ ।  बजार घटे पनि लगानीकर्ताहरुको उपस्थितिमा भने बृद्धि भएको हुँदा यसलाई सामान्य करेक्सन मान्नुपर्ने एक लगानीकर्ताले बताउनु भयो ।

कारोबारमा आएको १३ वटा उपसमूहमध्ये ५ उपसमूह बढ्दा ७ उपसमूह ऋणात्मक बनेको छ । झन्डै १२ अर्बको कारोबार भएको बजारमा ५ वटा कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किटलेभलमा कारोबार भएको छ । उक्त कम्पनीहरुमा समाता माइक्रोफाइनान्स, रुरु हाइड्रो, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णली डेभलपमेन्ट बैंक रहेको छ । 

केही समयदेखि उछाल आइरहेको हाइड्रो कम्पनीहरुमा आज भने धेरै गुमाउनेमा परेका छन् । जसमा ङादी ग्रुप, युनाइटेड मोदी, नेपाल हाइड्रो, युनिभर्सल पावर र रैराङ्ग हाइड्रोको शेयर मूल्य ५ प्रतिशत बढीले घटेको छ ।