काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली कायमै भएको छ ।  अघिल्लो दिन ऐतिहासिक कारोबार हुँदै बढेको बजारलाई आज पनि २० अंकले बढेर साथ दिएको छ । 

आज नेप्से परिसुचक २० अंकले बढ्दै २ हजार ७ सय ५९ दशमलव २१ विन्दुमा पुग्दा ९ अर्ब ५७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ४० करोड बढीको बारोबार भएको थियो भने आज करिब ८३ करोड कम कारोबार भएको छ । 

कारोबारमा आएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन, विकास बैंक र उत्पादन उपसमूह सामान्य ऋणात्मक बन्दा अरु १० उपसमूहहरु बाढेको छ । जसमा सबैभन्दा बढी अन्य उपसमूह २ दशमलव ६३ प्रतिशतले बढेर २ हजार २ सय ५० विन्दु कटेको छ । 

कोभिड-१९ को संभावित जोखिम कम गर्न भएको लकडाउन अवधिमा समेत शेयर बजार बन्द नभएपछि लगानीकर्ताहरुको उत्साहजनक उपस्थिति रहँनु र केही समयकाे लागि राजनीतिक स्थायित्व कायम भएकोले शेयर बजारमा बुलिश ट्रेन देखिएको एक शेयरबजार विज्ञले बताउनुभयो । 

आज कारोबारमा आएको २ सय १८ कम्पनीहरुमध्ये ११ वटाको पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।  कारोबारमा आएकामध्ये ५६ कम्पनीहरुको शेयरमूल्य ऋणात्मक हुँदा करिब २ प्रतिशतभन्दा सबैको कम मूल्य घटेको छ । 

आजको बजारमा १ करोड ९० लाख ५६ हजार बढी शेयरहरु खरिदबिक्री भएका छन् भने सबैभन्दा बढी अरुण काबेली पावरको ६ लाख ६८ हजार बढी कित्ता शेयर किनबेच भएको छ । त्यस्तै सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड बढीको ट्रनओभर भएको छ ।