काठमाडौं। निषेधाज्ञा अवधिमा ४२ वटा सञ्चारमाध्यम(टिभी,रेडियो,अनलाइन)ले पत्रकार आचार संहिता उल्लङ्‍घन गरेको पाइएको सञ्चारमाध्यमहरूको नियामक संस्था प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलले बुधबार सूचना जारी गर्दै कोभिड १९ को भयाबह अवस्थामा अनुगमन गर्दा भ्रामक र विभत्स समाचार प्रकाशन गर्ने ४२ मुख्य मुख्य ४२ सञ्चारमाध्यमहरू रहेको जनाएको छ। 

प्रेस काउन्सिल नेपालले त्यसरी पत्रकार आचारसंहिता विपरित समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्ने संस्थाहरूमध्ये १९ वटा सञ्चारमाध्यमले भ्रमपुर्ण, अफवाहपूर्ण  सामग्री सम्प्रेषण गरेकाले नेपाल भित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको जनाएको छ। 

कोभिड -१९ सङ्क्रमणका विषयमा विभत्स दृष्य, अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने १० वटा सञ्चारमाध्यमहरूलाई सचेत गराएको जनाएको छ। त्यस्तै कोभिड -१९ सङ्क्रमणको  विषयमा नै दुई वटा सञ्चारमाध्यमको ध्यानाकर्षण गराईएको  जनाएको छ।

निषेधाज्ञाको अवधिमा कोभिड -१९ भन्दा फरक विषयमा आचारसंहिता उल्लङ्‍घन गर्ने ४ वटा सञ्चारमाध्यमलाई स्पष्टिकरण सोधिएको र एक मिडियालाई जवाफ माग गरिएको सूचनामा उल्लेख छ। 

काउन्सिलका अनुसार  यस अवधिमा ६ वटा सञ्चारमाध्यमविरुद्ध काउन्सिलमा उजुरी परेका छन्।