नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ । दिनानुदिन कोभिड-१९ को संक्रमण दर तीव्र गतिमा बढिरहेको सन्दर्भमा नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगस्तरिय समन्वय समितिका संयोजक एवं मेयर इवन राईको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले नगरभित्रका स्वास्थ्य संस्था, औषधि पसल र खाद्यान्न पसल बाहेक अन्य सरकारी तथा गैर-सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा तथा पसल आगामी वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकको निर्णय मंगलबारदेखि लागू हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । सर्वदलीय बैठकले नगरभित्रका खाद्यान्न पसल भने स्वास्थ्यका मापदण्ड पालना गरेर दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने, महामारीका बेला कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्ने र कालोबजारी गरेको पाइएमा नियमानुशार कारबाही गर्ने निर्णय गरेको छ ।

