सिन्धुली। सिन्धुली स्थित सुनकोशी गाउँपालिका वडा नं. ५, मूलकोटमा एकै दिन १२ जना कोभिड १९ सङ्क्रमित फेला परेपछि गाउँपालिका १० दिनका लागि सिल गरिएको छ। गाउँपालिकाले प्रदान गर्ने सेवा २०७८ बैशाख २० गते रातिदेखि बैशाख ३० गतेसम्मका लागि गाउँपालिका क्षेत्रभित्र अत्यावश्यकिय बाहेकका सेवा बन्दा गर्ने निर्णय गरिएको गाउँपालिकाले  जनाएको छ। 

गाउँपालिकामा स्थानीय तह कोभिड–१९ विपद व्यवस्थापन समितिको २० गते गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र बेलुका ४ः०० बजेदेखि ६ः०० बजेसम्म सञ्चालन गर्ने, सुनकोशी गाउँपालिका क्षेत्र भित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरु बाहेक होटल, रेष्टुरेण्ट, लज, सहकारी, उद्योग–कलकारखाना तथा निजी संस्था एवं विद्यालयहरु लगायतका संघसंस्थाहरु बन्द रहने निर्णय गरेको छ।

त्यस्तै, बैठकले कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र बन्दाबान्दीको सम्बन्धमा आवश्यक जानकारीका लागि रातमाटा र नेपालथोक प्रहरी चौकी, रेडक्रस सोसाइटीका उपशाखाहरु, स्वास्थ्य शाखा, उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघले संयुक्त रुपमा सञ्चालन गर्ने, कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्को कार्य सम्बन्धित वडाका वडाध्यक्षहरुले समन्वय गर्ने लागयतका निर्णय गाउँपालिकाले गरेको छ। स्वास्थ्यकर्मीको अभाव हुने भन्दै दीर्घ प्रदीप मा.वि. खाल्टेमा कार्यरत विद्यालय नर्श प्रनिता लामिछानेलाई सिन्धुली जिल्ला अस्पतालमा काजमा खटाउने निर्णय गाउँपालिकाले गरेको छ।

वि.पि. राजमार्गको आवत जावत भने बन्द गरिएको छैन।