राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ । 

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गर्नुभएको छ ।

यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ ।

सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ । 

सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक भोलि १२ः१५ बजे हुनेछ ।