काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।
त्यसैगरी, तेस्रो चरणमा थप आठवटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यससम्बन्धी जानकारी दिइएको हो । तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो । यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिने राईले जानकारी दिनुभयो ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्दमात्र नभएको उल्लेख गर्नुभयो । “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” नामसम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै उहाँले भन्नुभयो, “परिचय पाटी राख्दा दृश्य प्रदूषण हुनेगरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नबिझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।”
विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको उहाँले जानकारी दिनुभयो ।
अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गराइन्छ ।

