काठमाडौं। आइतबार रातिदेखि लागू हुने गरी काभ्रे र मकवानपुर जिल्लामा पनि निषेध आदेश जारी हुने भएको छ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लामा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेध आदेश जारी गर्ने निर्णय गरेको छ। त्यस्तै काभ्रे जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेबाट लागू हुने गरी ती स्थानमा निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।
जिप्रका मकवनपुरले हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गर्ने जनाएको छ भने जिल्ला प्रशासन कार्यालय काभ्रेले अरनिको राजमार्ग क्षेत्रको साँगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटरसम्म, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश लागू हुने जनाएको छ।