सिन्धुली। सिन्धुली जिल्लास्थित दुधौली नगरपालिका वडा नं. -१३ को कार्तिकेमा सुनुवारहरूको सांस्कृतिक बाजा ढोलझ्याम्टा सम्बन्धी पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सुनुवार सेवा समाज नगर समिति दुधौलीको आयोजनामा तथा प्रशिक्षक जीवन सुनुवारको प्रशिक्षणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

'संस्कृति हाम्रो पहिचान, कलालाई प्रोत्साहन' भन्ने नारा सहित बैशाख ९ गते सुरु भएको प्रशिक्षण कार्यक्रम बैशाख १३ गते सम्पन्न भएको प्रशिक्षक तथा सुनुवार सेवा समाज संघीय समितिका "युवा तथा अतिरिक्त विभाग" प्रमुख जीवन सुनुवारले बताउनु भएको छ।

सुनुवार सेवा समाज नगर समिति दुधौलीको अनुरोधमा संघीय समितिबाट प्रशिक्षकको रुपमा "युवा तथा अतिरिक्त विभाग"का प्रमुख जीवन सुनुवार खटिनु भएको हो। सुनुवारले पाँच दिने ढोलझ्याम्टा प्रशिक्षण कार्यक्रममा २५ जना सुनुवार युवाहरूको सहभागिता रहेको जनाउनु भएको छ। प्रशिक्षण कार्यक्रममा सुनुवार युवाहरूले विशेष रुची देखाएर बजाउन सिकेको र उनीहरूको सक्रिय सहभागिता रहेको प्रशिक्षक सुनुवारले जनचासो खबरलाई जानकारी गराउनु भयो।

प्रशिक्षण कार्यक्रममा दुधौलीको कर्थास्थित 'कोँइच नासल खिँ' ग्रुपका युवाहरूको सक्रिय उपस्थितिमा कार्यक्रम अवधिभर सहजिकरण गरेका थिए।