सिन्धुली। १२ औँ राष्ट्रिय जणगणना कार्यालय सिन्धुलीले १२ औँ राष्ट्रिय जनगणना सम्बन्धी सचेतना गोष्ठी जिल्लाको तीन स्थानमा सम्पन्न गरेको छ। आईतबार गोलन्जोर गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना गोष्ठी सम्पन्न गर्दै जनगणना कार्यालय सिन्धुलीले जनगणनाको लागि स्थापना गरेको जिल्लाको तीनवटै स्थानीय कार्यालयहरूमा गोष्ठी सम्पन्न गरेको हो।
कार्यालयले जिल्लाको दुधौली, मरिण र गोलन्जोरमा “मेरो गणना मेरो सहभागिता” भन्ने मूल नाराको साथ स्थानीय तह जनगणना कार्यालयमा कार्यक्रम सम्पन्न गरेको हो। सचेतना गोष्ठीमा १२ औँ जनगणना २०७८ मा सोधिने प्रश्नावली, प्राप्त तथ्याङ्कको प्रयोग, जनगणना २०७८ को विशेषता, समन्वय, लिङ्ग,भाषाको पहिचान लगाएतको विषयमा गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवाहरूलाई जानकारी गराएको सहायक जिल्ला जनगणना अधिकारी सुवास कोईरालाले जनाउनु भएको छ।
आज गोलन्जोर गाउँपालिकाको ग्वालटारमा सम्पन्न कार्यक्रममा सुनकोसी, फिक्कल र गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई जानकारी गराएको सहायक जिल्ला जनगणना अधिकारी कोइरालाले बताउनु भयो।
स्थानीय तह जनगणना कार्यालय ग्वालटारले सुनकोशी, फिक्कल र गोलन्जोर गाउँपालिकामा जनगणना २०७८ को काम गर्ने उहाँले बताउनु भयो। जनगणनाको पहिलो चरणमा सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरणको काम वैशाख २६ गतेबाट ज्येष्ठ १४ गते गर्ने छ।
१२ औँ जनगणना सम्पन्न गर्न सुनकोशीमा ६ जना, गोलन्जोरमा ५ र फिक्कलमा ५ जना सुपरिवेक्षक खटिने छन्। आज स्थानीय तह जनगणना कार्यालय गोलन्जोरमा सम्पन्न कार्यक्रममा फिक्कल गाउँपालिकाका उपाध्यक्ष पावर्ती सुनुवार, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगाएतको उपस्थिति रहेको थियो।

